काठमाण्डौ ।  माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलाम बिक्रीमा राखिएको छ ।

कम्पनीको सर्वसाधारण समूहतर्फ बिक्री हुन नसकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलामीमा राखिएको हो ।इच्छुक व्यक्ति, संघसंस्था तथा लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत  आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।

बिक्री प्रवन्धकका अनुसार कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्यमा नघट्नेगरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने छ । न्यूनतम १००कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा सेयर बाँडफाँट हुनेछ ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ : १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

जसमा सर्बसाधारण समूहतर्फ  ५ करोड १८ लाख ९१ हजार सेयर निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता सेयर गत मंसिर २८  गते बाँडफाँट गरिएको थियो ।

जसमा बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर कम्पनीले लिलाम गर्न लागेको हो ।