काठमाण्डौ । ब्रोकर कमिसनमा भ्याट मिनाहा भए पनि पूँजीगत लाभकर वृद्धि भएका कारण बजेटले लगानीकर्ताको मनोबल उकास्न सकेन । फलस्वरुप, आम अपेक्षाविपरीत बाम सरकारको बजेटपछि पनि लगानीकर्ता आश्वस्त हुन नसक्दा सेयर बजार लगातार घट्दो क्रममा छ । 

बजेटको भोलिपल्ट जेठ १६ गते एकल अंकले घटेको बजारमा जेठ १७ गते बिहीबार पनि दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १४.६१ अंकले घटेर १३०७.६६ अंकमा सीमित बन्न पुगेको हो । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम(टर्नओभर) समेत घटेर ३४ करोड ५९ लाखमा सीमित बन्न पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.९३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०८ अंकको गिरावट आएको छ । 

यो दिन व्यापार समूहमा २.९६ को झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचक घटेको छ । 

बैंकिङ समूह १२.३४ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ११५.७२, १२.४७ र १७.५७ अंकले घटेका छन् । यस्तै, होटल समूह २२.३१ अंकले घटेको यो दिन जलविद्युत समूह १७.३६, बित्त समूह ०.३, उत्पादनमूलक समूह २५.२ अंक र अन्य समूह ४.६१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका ७ लाख ८ हजार १ सय ४७ कित्ता सेयर ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाँमा किनबेच भए । सबैभन्दा बढी नेपाल टेलिकमले सबैभन्दा बढी २ करोड ८२ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले २ करोड ४३ लाख, मिर्मिरे माइक्रोफाइनान्सले १ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६१ लाख, साना किसान विकास बैंकले १ करोड ३४ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २८ लाख, फरवार्ड माइक्रोफाइनान्सले ६५ लाख, एभरेष्ट बैंकले ६२ र एनआइसी एशिया बैंकले ५७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने
यो दिन सूर्योदय लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य २ प्रतिशतले वृद्धि भयो । 

यो दिन कमाउने भन्दा गुमाउने कम्पनी बढी देखिए । मेगा बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा गुमाए ।