 
                     
                                
                             
                                    काठमाण्डौ । अहिलेको समयमा इन्टरनेट मानिसहरुको आवश्यकता बनिसकेको छ। इन्टरनेट बिना मानिसको जीवन अधुरो र अपूरो हुन थालेको छ।
यदि कुनै कारणवश अनलाइन हुन नपाउँदा कयौँ मानिसहरु हतास बन्ने गर्दछन्। यदि तपाइँलाई पनि अनलाइन हुन नपाउँदा बेचैन र छटपटी हुन्छ भने यो समस्याको विषय हुन सक्छ।
एक अध्ययनका अनुसार अनलाइन आउन नपाउँदा स्ट्रेस अनुभव गर्नेहरु ‘डिस्कोमगुगोलेसन’ को समस्याबाट पीडित हुन सक्छन्। ब्रोडब्यान्डको बढ्दो प्रसारले हामीलाई इन्सटेन्ट आन्सरको दुनियाँमा पुर्याइदिएको छ। जहाँ सूचनाहरु मानिसहरुबाट एउटा माउस क्लिक टाढा हुने गर्दछन्। यसका कारण मानिसहरु वेबमा परनिर्भर बन्न थालेका छन्।
वेब मानिसको सम्पूर्ण प्रश्नहरुको उत्तर र उनीहरुको एक्लोपनको साथी बनिसकेको छ। यस्तोमा जब उनीहरुको अनलाइनमा पहुँच पुग्दैन तब यही छटपटाहटमा उनीहरु विस्तारै ‘डिस्कोमगुगोलेसन’ को सिकार बन्ने गर्दछन्। यो शब्द ‘डिस्कोमबोबुलट’ र ‘गुगल’ को सम्मिश्रणबाट बनाइएको हो। डिस्कोमबोबुलेटको अर्थ हतास वा असमञ्जस हो।
के हो डिस्कोमगुगोलेसन ?
मनोवैज्ञानिकहरुका अनुसार डिस्कोमगुगोलेसन एक प्रकारको अनुभूति हो। जब कुनै व्यक्ति सूचनाहरुको संसार अर्थात इन्टरनेटको पहुँच पाउँदैन तब उसको दिमागको गतिविधि असाधारण हुने गर्दछ। यो एक प्रकारको सिन्ड्रोम हो। जुन कुनै समस्याको चाँडो उत्तर खोज्न नसक्दा तथा इन्टरनेट नजिक नहुँदाका कारण कुनै समस्याको समाधान गर्न नसक्दा हुने गर्दछ।
वैज्ञानिकहरुले आफ्नो अध्ययनमा यो मिटिङमा ढिलो पुग्दा र कुनै महत्वपूर्ण परीक्षा दिँदा हुने तनाव जस्तै हुने बताएका छन्। वैज्ञानिकहरुले करिब २ हजार मानिसमा यो सर्भे गरेका थिए। वैज्ञानिकहरुको समूहले सर्भेमा सहभागीहरुको मुटु र मस्तिष्क सुपरिवेक्षण गर्दा पुरुषको बेचैनी महिलाहरुको तुलनामा धेरै पाएको थियो। उनीहरुले नेटमा पहुँच नहुँदा महिलाभन्दा पुरुष धेरै हतास र बेचैन भएको पाएका थिए। सर्भेमा इन्टरनेट कनेक्सन काटिँदा मानिसहरुको मस्तिष्क र ब्लडप्रेसरमा एकदमै तीव्रता आएको देखिएको थियो।
वैज्ञानिकहरुका अनुसार निरन्तर रुपमा इन्टरनेट चलाउँदा औँला, गर्दन र शरीरका अन्य भागहरुमा प्रभाव पर्ने गर्दछ। यसको असर मानिसको निद्रा र विचारमा समेत पर्ने गर्दछ। त्यसैले वैज्ञानिकहरुले इन्टरनेट चलाउँदा बेला–बेलामा ब्रेक लिनुपर्ने र शारीरिक गतिविधिहरु बढाउनुपर्ने सुझाव दिएका छन्।
इन्टरनेटको बढ्दो प्रयोगले मानिसको स्वभावमा समेत प्रभाव पार्न सक्ने भएकाले इन्टरनेटमा धेरै परनिर्भर हुनु हुँदैन।
निमहान्सको अध्ययनका अनुसार इन्जिनियरिङ विद्यार्थीहरुमा २७.१ प्रतिशत इन्टरनेट एडिक्सनको हल्काफुल्का, ९.७ प्रतिशतमा ठिकठाक र ०.४ प्रतिशतमा गम्भीर समस्या देखिएको थियो। छात्राको तुलनामा छात्रमा यो समस्या धेरै देखिएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19