काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार १ घन्टामै सवा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

यो समाचार तयार पर्दासम्म नेप्सेमा सूचीकृत २०२ कम्पनीका ७९ लाख ५५ हजार २३४ कित्ता सेयर ४ अर्ब ३० करोड १२ लाख १२ हजार ५  रुपैयाँमा कारोबार भएका छन्। 

यो बेलासम्म नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। अहिलेसम्म निर्जीवन बीमा समूहमा सर्वाधिक १०० अंकभन्दा बढीले उकालो लागेको छ भने जीवन बीमा तथा लघुवित्त समूहमा सर्वाधिक २०० अंकभन्दा बढीले ओरालो लागेका छन्।

अहिलेसम्म सर्वाधिक गुमाउने १० कम्पनीमा सबै लघुवित्त रहेका छन्। जसमा साधना, लक्ष्मी र गणपति सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ भने सारथी नेपाल, सामुदायिक, कालिका, मेरो, सिभिल, आएमडीसी, मिथिला, आशा, गुराँस र आरम्भ चौतारी लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले लघुवित्तमा लगानी गर्न नपाउने भएपछि लघुवित्त कम्पनीको सेयरमूल्यमा प्रभाव परेको विश्लेषकहरु बताउँछन्
यो बेलासम्म ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा शिवश्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

अहिलेसम्म युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक २३ करोड रुपैयाँको कारोबार भएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २३.८३ अंकले ओरालो लागेर २७९२.७६ विन्दुमा झरेको छ।