काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार खुलेको २ घन्टामै ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ७४ लाख ५३ हजार ६०१ कित्ता सेयर ८ अर्ब ५ करोड ६१ लाख ८३ हजार ४४९ रुपैयाँमा किनबेच भएको छ। अहिलेसम्म नेसनल हाइड्रोको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ३१ करोड ८५ लाख रुपैयाँ बढीको कारोबा भइसकेको छ। 

यसैगरी नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। अहिलेसम्म विकास बैंक र वित्त (फाइनान्स) समूहमा उछाल आएको छ। विकास बैंक समूहमा १९४.४५ अंक र वित्त समूहमा १५५.५६ अंकको बढोत्तरी भइसकेको छ। व्यापार समूह भने सबैभन्दा बढी ३२.६१ अंकले ओरालो लागेको छ। 

यो अवधिमा १० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पोखरा फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा श्री इन्भेस्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, जानकी फाइनान्स, गोखार्ज फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र रिलायन्स फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

निकै उतारचढावबीच नेप्से परिसूचक २.६९ अंकले बढेको छ। अहिले नेप्से २९०९.६० को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले बढेर ५२१.३७ को विन्दुमा उक्लेको छ।