काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार खुलेको ३ घन्टामा साढे ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका २ करोड ४८ लाख ७० हजार ३७६ कित्ता सेयर ११ अर्ब ५८ करोड ७० लाख ७७ हजार ७४१ रुपैयाँमा किनबेच भएको छ। अहिलेसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ४२ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

यसैगरी नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। अहिलेसम्म विकास बैंक र वित्त (फाइनान्स) समूहमा उछाल आएको छ। विकास बैंक समूहमा १९९.८४ अंक र वित्त समूहमा १६१.६३ अंकको बढोत्तरी भइसकेको छ। व्यापार समूह भने सबैभन्दा बढी ७८.६९ अंकले ओरालो लागेको छ। 

यो अवधिमा १३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, रिलायन्स फाइनान्स, नेसनल हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।

निकै उतारचढावबीच नेप्से परिसूचक १.६१ अंकले बढेको छ। अहिले नेप्से २९०८.५२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५० अंकले घटेर ५२०.५२ को विन्दुमा झरेको छ।