काठमाण्डौ । आज बुधबार कारोबार खुलेको साढे २ घन्टामा सेयर बजार ३२०० विन्दुभन्दा माथि उक्लेको छ। 

यो समाचार तयार पार्दासम्म बजार ४१.५२ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक ३२०१.८४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत साउन ३० गते नेप्सेले हालसम्मकै उच्च विन्दु ३१७८.९१ को उचाइ चुमेको थियो। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले बढेर ५९९.२८ को उचाइमा पुगेको छ। अहिलेसम्म १३ अर्ब ३८ करोड रुपैयाँबढीको कारोबार भइसकेको छ भने नेसनल हाइड्रोपावरको सर्वाधिक ५९ करोड २८ लाख बढीको कारोबार भइसकेको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। विकास बैंक समूह सर्वाधिक ७.५९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ५.२३ प्रतिशतले बढेकोमा उत्पादन तथा प्रशासन समूहमा ३.६ प्रतिशत तथा जलविद्युत समूहमा २.८६ प्रतिशतको बढोत्तरी भइसकेको छ। 

यो बेलासम्म ९ वटछा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। जसमा गुडविल फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, पञ्चकन्या माई हाइड्रोपावर, शिवम् सिमेन्ट्स, लुम्बनी विकास बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।