काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार खुलेको एक घन्टामा नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ। यो बेलासम्म दुवै बीमा समूहमा चमक आएको छ। 

बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना स्वीकृति गरेका कारण आज यी दुवै समूहमा चमक आएको हो। 

यो समाचार तयार पर्दासम्म नेप्से परिसूचकमा १.७२ अंकको बढोत्तरी भएको छ। अहिले २६१५.३९ को विन्दुमा कारोबार भएको छ। 

यो बेलासम्म जीवन बीमा समूहमा ३.२८ प्रतिशत र निर्जीवन बीमा समूहमा ३.६१ प्रतिशतको बढोत्तरी भएको छ। लघुवित्त समूह पनि ०.१७ प्रतिशतले बढेको छ। तर, अन्य सबै समूहमा गिरावट आएको छ।

अहिलेसम्म उच्च कारोबार गर्ने र धेरै कमाउने १० कम्पनीहरुमा बीमा कम्पनीहरुकै दबदबा रहेको छ। यो बेलासम्म उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ वटा बीमा कम्पनी छन् भने शीर्ष १० कमाउने कम्पनीहरुमा ७ वटा बीमा कम्पनीहरु नै छन्।

यतिबेलासम्म नेप्से सूचीकृतमध्ये २०८ कम्पनीका २२ लाख ४६ हजार ५८२ कित्ता सेयर १ अर्ब ५१ करोड रुपैयाँ बढीमा किनबेच भएका छन्।