काठमाण्डौ । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको छ। 

आज कारोबार खुलेको १ घन्टा १५ मिनेटमै नेप्से परिसूचक ४५.८२ अंकको गिरावट आएको छ। योसँगै नेप्से १८९५.९५ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ३६१.५५ को विन्दुमा ओर्लेको छ। 

यो अवधिसम्म कारोबार भएका २११ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने ४ वटा कम्पनीको सेयरभाउमात्रै बढेको छ। 

श्वेत–गंगा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ। 

आत्मनिर्भर लघुवित्तका सेयरधनीहरुले धेरै कमाएका छन्। यो लघुवित्तको सेयरभाउ १० प्रतिशतले बढेको छ। 

अहिलेसम्म ९१ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको सर्वाधिक ९ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

सरकारले बजेटमार्फत पुँजीगत लाभकर घटाउने अपेक्षा लगानीकर्ताको थियो। तर, बजेटमा पुँजीगत लाभकर यथावत राखिएको छ। 

उता सरकारले बजेटमार्फत एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा प्राप्त हुने बार्गेन गेनलाई बोनस सेयरका रुपमा वितरण गर्दा कर लाग्ने गरेको व्यवस्था गरेको छ। यसको लगानीकर्ताले चर्को विरोध गरेका छन्। 

यिनै कारणले लगानीकर्ताको मनोबल गिर्दा आज बजार प्रभावित जानकारहरु बताउँछन्।