-भक्तराज रसाइली

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ छिट्टै सञ्चालनमा ल्याउने गरी अनुमति दिने तयारी गरेको छ ।

बोर्डले मार्जिन ट्रेडिङको बिषयमा आजभोलि नै बैठक बसी आवश्यक निर्णय गर्ने र ऐनकानून संसोधनको प्रक्रिया समेत अगाडि बढाउने अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिएका छन् ।

अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलको प्रतिवेदनमा मार्जिन टे«डिङको व्यवस्था यथासक्य चाँडो गर्ने बिषय समेत समेटिएको छ । प्रतिवेदनमा समेटिएको यो विषयलाई कार्यान्वयन ल्याउन अर्थमन्त्रीबाट निर्देशन भएपछि विगतमा यो विषयमा देखिएको अन्यौलता अन्त भएको कार्कीको दाबी छ । 

यो विषय कार्यान्वयनका लागि केही झञ्झटिला प्रक्रिया थिए, तर अब त्यो गाँठो फुकिसकेकोले यसमा बोर्डलाई काम गर्न सजिलो भएको कार्कीको दाबी छ । 

कार्यदलको प्रतिवेदनमा समेटिएको यो बिषयलाई आधार मानी बोर्डलाई समेत अर्थमन्त्रालयबाट लिखित निर्देशन आइसकेको र यसलाई बोर्डले तत्काल अगाडि बढाउने बताए । ‘अब आजभोलि नै मार्जिन ट्रेडिङ लगायतका विषयमा धितोपत्र बोर्डको बोर्ड बैठक बस्नेछ र बोर्डको जिम्मेवारी रहेका कामहरु कार्यान्वयनको यथाशीघ्र प्रयास हुनेछ।’ उनले थपे ।

किन ढिला भएको थियो मार्जिन ट्रेडिङ ?
निकै प्रतीक्षाको विषय बनेको ब्रोकरमार्फत मार्जिन ट्रेडिङको गाँठो पार्ने काम विगतमा ब्रोकर, नेप्से र नेपाल राष्ट्र बैंकले गरेका थिए । ‘एक त ब्रोकरहरुले मार्जिन ट्रेडिङको कार्यविधि बनाउन ब्रोकरहरुले ४ महिना लगाइदिए र नेप्सेको बोर्ड बैठकद्वारा ब्याजदर कायम गराउन नेपाल राष्ट्र बैंकको अनुमति लिइनुपर्ने बाध्यकारी प्रावधान खडा गरिदियो ।’ बोर्डस्थित एक स्रोतले भन्यो–‘सोही प्रावधान राखिदिएका हुनाले ब्रोकर र नेप्सेको ढिलासुस्तीले गर्दा समेत मार्जिन ट्रेडिङमा ढिलाई भयो ।’

यो विषयको कार्यान्वयनका लागि ढिलाई भएकोमा अर्थसमितिको बैठकमा बोर्ड र केन्द्रीय बैंकका प्रमुखबीच दोषारोपण समेत भएको थियो । 

के हो मार्जिन कारोबार ?
आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । जस्तै, तपाइँलाई एक लाख रुपैयाँको सेयर किन्नुपर्यो । तर, तपाईँसँग पचास हजार रुपैयाँ मात्रै छ भने बाँकी पचास हजार रुपैयाँ मार्जिन लोनको रुपमा लिएर एकलाख रुपैयाँको मार्जिन कारोबार गर्न सक्नुहुन्छ । यस्तो लोन सेयर ब्रोकरहरुले उपलब्ध गराउँछन् । यसरी, लोन दिलाएबापत सेयर ब्रोकरहरुले ब्याज अथवा अन्य शूल्कहरु लिन्छन् । त्यसरी एउटा मार्जिन लिइसकेपछि त्यो भित्र रहेर मार्जिन सेवा उपभोग गर्न पाइन्छ ।