-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले थप गरेको नयाँ प्रडक्ट मार्जिन कारोबार सुविधामा सेयर लगानीकर्ताहरुले चासो देखाएका छैनन् । 

मार्जिन कारोबार सेवा सुचारु भएपछि यसले बजारमा सकारात्मक तरंग ल्याउँछ भन्ने विश्लेषण समेत यसका केही अप्ठ्यारा शर्त, सीमा र बन्देजहरुले गलत साबित गरिदिएको छ । 

घट्दो बजारमा मार्जिन ऋण लिएर सेयर खरिद गर्दा मुनाफा नदेखेपछि लगानीकर्ताहरुले मार्जिन कारोबारको अनुमति पाएका २१ धितोपत्र दलाल सदस्य(ब्रोकर)बाट यो सुविधाका लागि रुचि नै नदेखाएका पाइएको छ । 

मार्जिन ऋण प्रवाह गर्ने प्रक्रिया तथा केही सीमा र शर्त केही अव्यवहारिक देखिएकाले मार्जिन कारोबार सेवाको कार्यविधिमा संसोधन गर्न नेपाल धितोपत्र बोर्डसँग छलफल गर्न खोजिएकोे स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । बजारको अवस्था सेयर किनेर होल्ड गर्नुपर्ने भएको र सूचिकृत सीमित कम्पनीहरुमा मात्र मार्जिन ऋण पाइने भएकाले यसमा लगानीकर्ताहरुको लगाव कम भएको अध्यक्ष रानाभाटको दाबी छ ।

गत भदौ २६ गते नेप्सेले मार्जिन ऋण प्रवाहका लागि सार्वजनिक गरेको सूचिकृत ३३ कम्पनीहरुमा वाणिज्य बैंक १२, विकास बैंक ७, लघुवित्त वित्तीय संस्था ९, हाइड्रोपावर ३, होटल्स र अन्य समूहका १/१ वटा छन् । 

मार्जिन कारोबार सेवाको सुरुवात गरेको भिजन सेक्युरिटीज प्रालिका राजकुमार तिमिल्सनाका अनुसार मार्जिन कारोबारका विषयमा बुझ्न आउनेको संख्या बढिरहेको, तर अल्पकालीन बजारको अवस्थाले यसमा लगानीकर्ताहरुले रुचि नदेखाएका हुनसक्छन् । 

‘नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनी छनौट गर्दा लचकता अपनाउन सके लगानीकर्ताको आकर्षण बढ्ने थियो ।’तिमिल्सनाले भने–‘अल्पकालीन कारोबारीले यो सुविधा लिने हो, बजार बढिहाले यो प्रडक्ट लिनेको जमात पनि खचाखच हुन सक्दछ ।’ 

आर्यतारा सेक्युरिटीज प्रालिका एमडी गुणनिधि भुषालले ऋणले प्रतिफल बढाउने आशा हालको बजारले नदेखाएकै कारण समेत यसमा लगानीकर्ताहरुको लगाव नभएको बताउँछन् । बजारले पिकअप लिन सकेको खण्डमा यसको आकर्षण बढ्ने भुषालले ठोकूवा नै गरे । झञ्झटिलो कानूनी प्रक्रिया छोटो अवधि र सीमित कम्पनीमा मात्र यो सेवा उपलब्ध हुनुले पनि यो प्रडक्ट हाल सुसुप्त अवस्थामा रहेको भुषालको बुझाइ छ ।

लगानीकर्ता हरेराम घिमिरे बजार गिर्दो अवस्थामा हुनु र लगानीकर्ताको मनोविज्ञान नै कमजोर हुनुले पनि यसमा लगानीकर्ताले चासो नदिएको सुनाउँछन् । ‘३ महिनामै राफसाफ र ३ महिनामा पुनः सर्भिस चार्ज तिर्नुपर्ने भएकाले वाणिज्य बैंकभन्दा झञ्झटिलो भएकाले हामीलाई खासै चासो लागेको छैन ।’घिमिरे भन्छन्–‘यसका अव्यवहारिक पाटोहरुलाई छलफल गरी कार्यान्वयन पक्ष मजबुत बनाउन म सरोकारवाला संस्थाहरुलाई सुझाव दिन चाहन्छु ।’

ब्रोकरहाउसबाटै सहज ढंगले मार्जिन कारोबार सुविधाको प्रडक्ट लिन लगानीकर्ताहरुले हाल करिब १४ प्रतिशत ब्याजदर र सेवा शुल्क ०.१ देखि ०.५ प्रतिशत मात्रै लिएर दिने भनी सार्वजनिक गरेका छन् । नेप्सेबाट अनुमति पाएका २१ ब्रोकरहरुमध्ये अधिकांशले यो सेवा सुचारु भएको ब्रोकरहरु बताउँछन् । 

मार्जिन कारोबार उपलब्ध भएको जानकारी ब्रोकरहरुले सार्वजनिक वा विज्ञापन गर्न नियामक निकायले बन्देज लगाएका छन् । यहीकारण समेत सर्वसाधारण लगानीकर्ताहरु यो सेवाको सूचना तथा जानकारी यथेष्ट लिन नससकेको लगानीकर्ताहरुको गुनासो छ ।