-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले मार्जिन कारोबार संचालनका लागि इच्छुक धितोपत्र दलाल व्यवसायीबाट आवेदन आह्वान गरेको छ । योसँगै केही दिनमै यो सुविधा लगानीकर्ताले पाउने अवस्था देखिएको छ । 

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधी ,२०७५ बमोजिम धितोपत्र कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन धितोपत्र बोर्डको निर्देशनमा  इच्छुक सदस्य धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार सुविधाको सुरुवात गर्न लागेको हो । 

लामो समयको रस्साकस्सीपछि सुरु गरिएको मार्जिन कारोबारको सुविधा सेयर कारोबारीहरुलाई बैंक नगई आफ्ना ब्रोकरमार्फत नै पाउनेछन् । यो व्यवस्थाले लगानीकर्तालाई निकै सहज हुने जानकार बताउँछन् ।

नेप्सेस्थित स्रोतकाअनुसार मार्जिन कारोबार सुविधाका लागि अब इच्छुक सदस्य सेयर दलाल व्यवसायीले नेप्सेमा आवेदन दिनुपर्ने र अध्ययन गरेर अनुमति दिएपछि मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ्न् । 

स्रोत भन्छ, अहिले नेप्सेले आवेदन  खुल्ला गरिसकेको छ, परेका आवेदनको अध्ययन गरी अनुमति समेत धमाधम दिइनेछ । हामीले आम लगानीकर्तालाई समेत मार्जिन कारोबार सुविधाका विषयमा सचेतना दिन गइरहेका छौ । यसमा हामीलाई सदस्य ब्रोकरहरुको समेत सहयोग आवश्यक छ। 

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट अनुमति प्राप्त गरेपछि मात्रै सुविधा दिन सक्दछ । जसमा दलाल व्यवसायीको खूद सम्पत्ति कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ । 

कारोबारयोग्य धितोपत्रमा मार्जिन कारोबार सेवाका लागि  नेप्सेले तोकेका मापदण्डअनुसार कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खूद सम्पत्ती चुक्ता पूँजीभन्दा कम नरहेको  हुनुपर्छ । पछिल्लो २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्ने प्रावधान रहेको छ । 

यसका साथै दोश्रो बजारमा अघिल्लो आर्थिक वर्षमा कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको हुनुपर्छ । 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधीका अनुसार धितोपत्र सुरक्षणमा राख्ने  कम्पनीले आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारणसभा पनि सम्पन्न गरेको हुनुपर्नेछ । 

लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्न सदस्य दलाल व्यवसायीसमक्ष मार्जिन कारोबार खाता खोल्नुपर्ने हुन्छ, त्यसका लागि निवेदन दिनुपर्ने हुन्छ । सदस्य दलाल व्यवसायी तथा लगानीकर्ता बीच मार्जिन कारोबार सम्बन्धी सम्झौता गर्दा लगानीकर्ताले एक सदस्य दलाल व्यवसायीबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।

मार्जीन कारोबार  सुविधा उपयोग गर्न लागेका लगानीकर्ताको पर्याप्त मात्रामा  साख योग्यता अध्ययन गरी सन्तुष्ट भएको अवस्थामा मात्र मार्जिन कारोबार सुविधा सदस्य दलाल व्यवसायीले उपलब्ध गराउन सक्नेछ । 

सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार अन्तर्गत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण प्रत्येक लगानीकर्ताअनुसार छुट्टाछुट्टै अभिलेख बनाइ राख्नुपर्छ । 

सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्ताससँग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रुपमा लिनुपर्ने हुन्छ । मार्जिन कारोबारको सुविधाको सम्भार मार्जिन ४० प्रतिशत हुने र ४० प्रतिशतभन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्न सक्दछ ।