-भक्तराज रसाइली
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले मार्जिन कारोबार सुविधा कार्यविधि, २०७५ लागू गरेको २ साता बितिसक्दा समेत लगानीकर्ताले ब्रोकरबाटै मार्जिन सुविधा पाउन सकेका छैनन् । 

नेप्सेको तथ्याङ्कलाई हेर्दा फागुन २९ गतेसम्म ८ ब्रोकरहरुले मात्र मार्जिन ट्रेडिङ्गका लागि आवेदन दिएका छन् । तर उनीहरुमध्ये कसैले पनि नेपाल राष्ट्रबैंकको अनुमति भने लिएका छैनन् । 

मार्जिन ट्रेडिङ्गका लागि आवेदन दिएकामध्ये ५ ब्रोकरको कागजात नपुगेको नेप्से बताउँछ । 

मार्जिन ट्रेडिङ्गका लागि नेपाल राष्ट्रबैंकबाट समेत स्वीकृति लिनुपर्ने भएकाले धितोपत्र व्यवसायीहरु अलमलमा परेका नेप्सेले जनाएको छ ।

नेप्सेले सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारयोग्य कम्पनीको संख्या हाल २९ वटा रहेको र यसमा केही संख्या थपघट हुन सक्ने बताएको छ ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबारको विषयमा पुनः अलमल देखिएको स्वीकार गरे । नेप्सेले सिधै मार्जिन कारोबार सुविधा सञ्चालनका लागि आवेदन माग गर्ने भनिएकोमा हाल पुनः राष्ट्रबैंक र धितोपत्र बोर्डबाट पनि अनुमति लिनुपर्ने झञ्झट थपिदिएपछि यो सेवा संचालनका लागि तमतयार भएर बसेका ब्रोकरहरु समेत अहिले सेलाएका उनको दाबी छ ।

पूँजी बजारमा धितोपत्र कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन धितोपत्र बोर्डको निर्देशनमा मार्जिन कारोबारको सुविधा सुरुवात गर्न लागिए पनि एकाएक देखिएको अलमलले यो सेवा दिन तम्सिएका ब्रोकर मात्र होइन, आफूले कारोबार गर्ने ब्रोकरबाटै मार्जिन लेण्डिङको सुविधा पाउने आशामा रहेका लगानीकर्ता समेत अहिले अन्यौलमा छन् । 

नेपाल राष्ट्रबैंकले २०७५ साल पुस ९ गते गरेको सर्कुलर(एकीकृत निर्देशन)मा ‘धितोपत्र व्यवसायीबाट हुने मार्जिन कारोबार प्रचलित कानूनी व्यवस्थाको अधीनमा रही नेपाल धितोपत्र बोर्डको नीति निर्देशन अनुरुप हुनेछ’ भनिएको छ । त्यस्ता धितोपत्र व्यवसायीलाई नेपाल धितोपत्र बोर्डको सिफारिसमा केन्द्रीय बैंकबाट स्वीकृति प्रदान गरिने सर्कुलरमा उल्लेख छ । तर, ऐन र त्यस आधारमा जारी हुने सर्कुलरमा भएको स्पष्ट व्यवस्थाको विषयमा निकायपिच्छे अपव्याख्या हुन थालेपछि मार्जिन ट्रेडिङ्गको विषयमा पुनः अलमल सिर्जना भएको देखिन्छ । 

विगत ३ वर्षदेखि नै मार्जिन कारोबारको सुविधा धितोपत्र व्यवसायीमार्फत लगानीकर्ताले पाउने चर्चा हुँदै आएको छ । चर्चा हुने र फेरि सेलाउने क्रम चलिरहेको बेला यसपटक भने यसले किनारा पाउने आशा गरिएको भए पनि यो विषयमा फेरि गाँठो परेको छ ।

बल्लतल्ल दोस्रो बजारको एकमात्र सञ्चालक नेप्सेले मार्जिन कारोबार सुविधाको शुभारम्भ भएको भनेतापनि ब्रोकरहरुको उत्साहप्रद आवेदन नपर्नु र मार्जिन कारोबार सुविधाका लागि राष्ट्र बैंकको स्वीकृति लिनैपर्ने भन्ने व्यवस्था भएपछि यो विषय पुनः ३ वर्षअघिकै अवस्थामा फर्किएको जानकार दाबी गर्छन् ।

दोस्रो बजारमा धितोपत्र व्यवसायीहरुले खरिदबिक्री बाहेक मार्जिन कारोबार सुविधा सञ्चालन गर्दा निर्धारण गर्नुपर्ने ब्याजदर पनि अर्को टाउको दुखाइको विषय बनिरहेको छ । 

बोर्ड र नेप्सेमा राष्ट्रबैंकको समेत प्रतिनिधित्व रहने गरेको भए पनि कानूनी झञ्झट र बाधाअड्काउ फुकाउका विषयमा ठोस निर्णय लिन नसक्दा मार्जिन ट्रेडिङ्ग सुविधाको विषय अँध्यारोमा हराएको यात्री झै बन्न पुगेको छ।