-भक्तराज रसाइली
काठमाण्डौ । मार्जिन कारोबारका लागि आवश्यक प्रणाली निर्माणको जिम्मा लिएको भेण्डर कम्पनी, सोर्स कोड प्रा.लि.ले १ महिनाभित्रै सिस्टम बनाउने भएको छ । 

धितोपत्र व्यवसायी(ब्रोकर कम्पनी)हरुले मार्जिन कारोबारका लागि आवश्यक पर्ने सिस्टम बनाउन सोर्स कोड प्रा.लि.लाई जिम्मा दिएका हुन् ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको निर्देशिका बमोजिम त्रूटिरहित सिस्टम निर्माणमा जुटेकोले कम्तीमा एकमहिना लाग्ने सोर्स कोड प्रालिका सीइओ अभिजित श्रेष्ठले जानकारी दिए ।

उनले मार्जिन कारोबारका लागि आवश्यक सिस्टम गुणस्तरीय बनाइने र नयाँ खालको प्रणाली भएकोले आवश्यक अध्ययन समेत गर्नुपर्ने भएकोले समय लाग्ने देखिएको दाबी गरे । 

मार्जिन कारोबार संचालनको अनुमति पाएका ब्रोकर कम्पनीहरुले यो सेवा सहज बनाउन सिडिएससीसँग समेत छलफल चलिरहेको बताएका छन् । तर, सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले भने ब्रोकरहरुले संचालन गर्ने मार्जिन कारोबार सेवाका लागि आवश्यक सिस्टममको जिम्मा ब्रोकरहरुले नै लिनुपर्ने भएकोले यसमा आफूहरुको भूमिका नहुने जिकिर गरे ।

मार्जिन कारोबारका लागि हालसम्म नेपाल राष्ट्र बैंकले ३ वटा ब्रोकर कम्पनीलाई स्वीकृति दिइसकेको छ । आवेदन दिएका बाँकी १५ ब्रोकर कम्पनीहरुले भने स्वीकृति पाएका छैनन् । यी कम्पनीहरुले नेप्सेको सिफारिस लिएर केन्द्रीय बैंकसँग स्वीकृति लिन आफ्नो नियमावली संशोधन समयमै नगर्दा यस्तो अवस्था भएको बताइन्छ ।

मार्जिन कारोबार कार्यविधि,२०७५ बमोजिम मार्जिन कारोबारका लागि आवश्यक मापदण्ड पुगेका ब्रोकर कम्पनीहरुले राष्ट्र बैंकको स्वीकृति पाएर नेप्से सञ्चालक समितिले कारोबार सुचारुको अनुमति दिनेछ । 

नेप्सेले ब्रोकर कम्पनीहरुलाई दिन लागेको सेयर खरिदबिक्री बाहेक यो नौलो प्रडक्ट हो । यसका अलावा ब्रोकरहरुलाई स्टक डिलरका रुपमा समेत प्रवेश गराउन आवश्यक मापदण्ड र खाकासहितको प्रतिवेदन नियामक नेपाल धितोपत्र बोर्डमा यसअघि नै पेश भइसकेको छ । 

नेप्सेले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनको अध्ययन गरी बोर्डले स्टक डिलरका रुपमा समेत काम गर्ने अधिकार ब्रोकरहरुलाई दिनेछ ।