-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सुरु गर्न लागेको मार्जिन कारोबार  सुविधा पुनः अन्यौलमा परेको छ । 

मार्जिन कारोबार गर्दा ब्रोकर कम्पनीमार्फत प्रवाह हुने मार्जिन बापतको ऋणको ग्यारेण्टी र त्यस्तो  रकमबाट खरिद गरिएको सेयर कसको र कस्तो प्रकृतिका खातामा रहने भन्ने द्विविधा अन्त्यका लागि नेप्सेले चासो नदिंदा पुनः अन्यौल बढेको सरोकारवालाको दाबी छ । 

बैंकबाट सेयर धितो राखेर कर्जा लिँदा बैंकले धितो सकारेर लक गरेपछि ऋण रकम प्रवाह हुने परिपाटी छ, तर मार्जिन कारोबारमा ऋण रकम बापत सेयर खरिद गर्दा लगानीकर्ताकै डिम्याट खाता वा बेग्लै मार्जिन खातामा सेयर हस्तान्तरण हुने वा ब्रोकरको पुल खातामा रहने भन्ने विषय नै अहिलेको अन्यौलताको जड हो ।

यही अन्यौलताका कारण नेप्सेमा १८ ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारका लागि आवेदन दिएकामध्ये ४ वटा ब्रोकर कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति प्रदान गरेको लामो समय बितिसक्दा समेत नेप्सेले मार्जिन कारोबार सुविधाको अनुमति दिने छाँटकाँट नदेखाएको स्रोत दाबी गर्छ ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष, ब्रोकर नम्बर ३५ का भरत रानाभाटले मार्जिन कारोबारका लागि आवश्यक ब्याकअप सिस्टम आफ्ना भेण्डर कम्पनीले तयार गरिरहेका र आगामी साता त्यो सिस्टम पाएपछि अड्किएको मार्जिन कारोबारको विषयले गति पाउने दाबी गरे । 

तर, उनले पनि मार्जिन कारोबारमा प्रवाह गरिएको ऋण सुनिश्चिता र सोबापत खरिद गरिएको सेयर कस्तो प्रकृतिको कसको खातामा रहन्छ भन्ने अन्यौलताकै कारण ढिलाइ भएको स्वीकारे । 

पछिल्लो समय अधिकांश ब्रोकर कम्पनीमा लगानीकर्ताहरु मार्जिन कारोबार सेवाको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका भेटिएका छन् । यसले पनि बताउँछ कि मार्जिन कारोबारका लागि लगानीकर्ताहरुको तिर्खा झन् बढिरहेको छ । तर, लगानीकर्ताले व्यग्र प्रतिक्षा गरेको विषयले गति लिन नसक्दा आशा निराशामा परिणत हुने र यसले समग्र बजारको सेन्टिमेन्ट बिगार्नसक्ने जोखिम समेत उत्तिकै रहेको छ । 

धितोपत्र कारोबारमा मात्रै सीमित रहेको नेप्सेले बल्लतल्ल जन्माएको नयाँ प्रडक्ट ‘मार्जिन कारोबार’ कार्यान्वयनमा भइरहेको ढिलाईलाई कतिपयले शंकाको नजरले पनि हेर्न थालेका छन् ।

विगत ४ वर्षदेखि नेपालको पूँजी बजारमा मार्जिन कारोबारको बहस चलेदेखि गत वर्षको अन्ततिर नेप्सेले नै मार्जिन कारोबारका लागि ब्रोकर कम्पनीहरुलाई अनुमति दिइने बताएको थियो । तर, लगानीकर्ताले सोचेजस्तो छिटो काम भने हुन सकेको छैन । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मार्जिन कारोबार सेवा सुरुवातमा ढिलाई हुनुमा आफूहरु नभई ब्रोकर दोषी रहेका दाबी गरे ।

‘उहाँहरुले सिस्टम नै तयार गरिसक्नुभएको छैन ।’ उनले बिजशालासँग भने–‘सिस्टम तयार गरेर आइसकेपछि हामीले हलो अड्काउने भन्ने कुरा हुन्न ।’