– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमालले नियम मिचेको लगानीकर्ताले आरोप लगाएका छन्। 

दसैँ बिदाको बहानामा वर्षैंपहिले आबेदन दिएको मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर कमिसनको लोभमा कानुन मिचेर हिमालयन रिइन्स्योरेन्सलाई सोही बेला हतार–हतार गरेर आईपीओ निष्कासनको अनुमति दिएको लगानीकर्ता तिलक कोइरालाले आरोप लगाएका हुन्। कोइरालाले भने, ‘मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर हिमालयन रिइन्स्योरेन्सलाई चाहिँ राता–रात स्वीकृति दिएर त्यही अवधिमा आह्वानपत्र निकाल्न लगाउने काम गरेर हमालले कानुनको ठाडो उल्लंघन गरेका छन्।’ 

धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीको आईपीओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेका लागि कात्तिक १० गतेबाट निष्कासन गर्न अनुमति दिएको थियो । त्यसअघि धितोपत्र बिक्री प्रबन्धक एनआईबीएम एस क्यापिटलले असोज २४ गतेबाट आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो। तर, यो कम्पनीको आईपीओ लामो समय दसैं बिदा परेको भन्दै धितोपत्र बोर्डले असोज १६ गते एनआईबीएम एस क्यापिटललाई पत्र काट्दै आईपीओ निष्कासनको अवधि हेरफेर गर्न निर्देशन दिएको हो।

हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आईपीओ जारी गर्ने अनुमति दिएको छ । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउनेछ। 

यो कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने कुल सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला गर्नेछ।