काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनमा नै ओभर सब्सक्राइब्ड भएको छ ।

सीडीएससीले जनाए अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १ लाख ६४ हजार ८४२ आबेदकहरुबाट १८ लाख ४४ हजार ८७० कित्ता सेयर माग भएको छ । यो कम्पनीमा १८ करोड ४४ लाख ८७ हजार रुपियाँको माग भएको हो । 

शुक्रबारदेखि बिक्री खुल्ला भएको उक्त कम्पनीको आईपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० अंकित दरमा बिक्री खुलाएको हो । कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो ।
कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट गरिसकिएको छ । 

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आईपीओ निष्कासनपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । यसपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।