काठमाण्डौ । भारतका राष्ट्रपति  प्रणव मुखर्जीको आगमनका क्रममा काठमाण्डौका केही क्षेत्रमा अघोषित कफ्र्यू लागेको छ भने कालोझण्डा देखाउन प्रयास गरेका दुई पक्राउ परेका छन् ।

पछिल्लो समय नेपालको आन्तरिक मामलामा भारतले गरेको हस्तक्षेपको  विरोध गर्दै ग्रेटर नेपालको अगुवाईमा मुखर्जीलाई कालोझण्डा देखाउने तयारी गरिएको हो । 

सो क्रममा ग्रेटर नेपालका दुई शीर्ष नेता गिरफ्तार भएका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का छन् । उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुलगेट(गोल्डेन गेट) नजिकैबाट बिहान करिव ११ः३५ बजेतिर पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले गौशाला प्रहरी बृत्तमा राखेको छ । मुखर्जी विमानस्थलमा उत्रनुअघि नै नेपाल र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुखर्जीको विरोधमा ग्रेटर नेपालका अन्य समर्थकहरूले पनि काठमाण्डौमा प्रदर्शनको तयारी गर्दैछन् । 

यसैबीच, भारतीय राष्टपति मुखर्जीको आगमनअघि नै काठमाण्डौमा अघोषित कफ्र्यू लागेको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ र वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । मुखर्जीको सवारी हुने  क्षेत्रमा सर्वसाधारणलाई पैदल हिड्न समेत दिइएको छैन । 

प्रत्यक्षदर्शीहरुका अनुसार आज दिनभर चक्रपथ क्षेत्रभित्र अघोषित कफ्र्यूको अवस्था देखिनेछ । ट्राफिक प्रहरीका अधिकारीहरुका अनुसार मुखर्जीको सवारीको क्रममा पैदलयात्रीलाई समेत निषेधित क्षेत्रमा हिड्न रोक लगाइनेछ । 

मुखर्जीको सवारीमा ज्यामरसहितका कार्गेड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।

सरकारले मुखर्जी आउने दिन आज सार्वजनिक विदा दिएको छ । सरकारको यस्तो निर्णयको चर्को आलोचना भएको छ ।