मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । 
 
भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
 
अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले ४४ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ”, योजना अधिकृत गुरुङले भने “अझै स्याउ टिप्ने क्रम जारी छ ।” अहिलेसम्म तीन हजार २०० मेट्रिक टन स्याउ बाहिरिएको उनले बताए। 
 
कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् । 
 
पोखरा, धादिङ, काठमाडौँका व्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । “हामीले पहिल्यै ठेक्कामा दिन्छौँ, घाटा नाफा व्यापारीको कुरा हो” मार्फा–९ का कृषक प्रेमबहादुर तामाङले भने, “यसपालि मैले डेढ करोडमा ठेक्का दिएको हुँ । असिना परेर बोटमा पातलो दाना लाग्यो, हिउँ खासै नपरेकोले उत्पादन घटेको छ ।” 
 
मुस्ताङी स्याउ निकै स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरमा व्यापारीले पु¥याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैँचाबाट कृषकले ठेक्कामा व्यापारीलाई स्याउ बिक्री गर्दा ७० देखि ८० रुपैयाँ प्रतिकिलो थोक मूल्य परेको छ । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाउँमा अत्यधिक स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।