काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल हाइड्रोको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३०२.१० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३१७.२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत पुस ७ गतेसम्म कायम सेयरधनीमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्तावित हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि गर्ने तथा सोहीअनुसार प्रबनधमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले ४ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु सभाबाट अनुमोदन हुनेछन्।