काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो कम्पनी प्रतिकित्ता ४७८.११ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५२१ रुपैयाँ थियो। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यद्यपि मर्जर प्रयोजनका लागि यो कम्पनी सेयर कारोबार रोक्का रहेको छ। 

कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही माघ २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ८.९७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारीपुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० रहेको छ। 

सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँ लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता, कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।