काठमाण्डौ । आर्थिक वर्षको २०७८–७९को बोनस सेयरका लागि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेप्सेले किसान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६५५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आज चैत २० गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा यही चैत २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको र्याचकेट इन्भेस्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको कुल ७.३६८४ प्रतिशतले हुन आउने ३ करोड ४७ लाख ३२ हजार ५६५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ७ प्रतिशतले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ६२८ रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व परिमार्जन गर्ने र थप सार्वजनिक निकाष्सन (एफपीओ) सर्वसाधारणलाई जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले संस्थापक समूहको रिक्त सञ्चालन नियुक्ति अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।