काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि समीट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्से सेयरमूल्य समायोजन गर्दै समीट लघुवित्त प्रतिकित्ता ८१९.९९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता ९३१.२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आज जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न सर्वसाधारणतर्फ अपुग ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले नेसनल माइक्रोफाइनान्ससँग मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि कायम गरिएको नेसनलको १०० बराबर समीटको ७३ कित्ता सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ। 

मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने निर्णय पनि सभाले पारित गर्नेछ। 

मर्जरपछि नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।