काठमाण्डौ । हकप्रद सेयरका लागि सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र मल्टीपर्पस फाइनान्सको सेयरभाउ समायोजन गरिएको छ।

नेप्सेले सिनर्जी पावर र मल्टीपर्पस फाइनान्सको सेयरभाउ समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता सिनर्जी पावरको २०३.३३ रुपैयाँ र मल्टीपर्पस फाइनान्सको ३१८.३७ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सिनर्जी पावरको २५५ रुपैयाँ र मल्टीपर्पस फाइनान्सको ३९४.८० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार आउँदो आइतबार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद जारी गर्नेछ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। 

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

यसैगरी मल्टीपर्पस फाइनान्सले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले कुल १५ करोड ८२ लाख रुपैयाँबराबरको हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। 

मल्टीपर्पस फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।