काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३२.६६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २६३.६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले बैंकले आज असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३० प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँबराबरको नगद लाभांश छन्। 

माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ति गर्न र यससम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृृति गर्नेछ। सोही आर्थिक वर्षको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।