काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि सानिमा बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २६९.७० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार सानिमा बैंकको सेयर कारोबारमा आउनेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज २१ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश पाउन भएका छन्। 

सानिमा बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभा आगामी कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाले चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावन पनि पारित गर्नेछ। 

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरणसमेत पारित गर्ने अजेन्डा छन्।