काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) हकप्रद सेयर निष्कासन प्रयोजनार्थ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता शिखर इन्स्योरेन्सको १५५०.७७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १९८६ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आज माघ २१ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

शिखर इन्स्योरेन्सले हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

शिखरलाई नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।