काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को नयाँ सामाजिक सञ्जाल एप ल्याउने भएको छ। यो एपले ट्विटरसँग प्रतिस्पर्धी गर्ने बताइएको छ। 

थ्रेड्स् नामक उक्त एपलाई एप्पल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि–अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिंक गरिनेछ। एपका स्क्रिनसटहरु हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्सलाई टेक्ट्स बेस कन्भर्सेसन एप अर्थात् ‘अक्षरमा आधारित संवाद एप’ भनेको छ।

फेसबुक सञ्चालक कम्पनीको उक्त निर्णय त्यसका मालिक मार्क जुकरबर्ग र ट्विटरका मालिक एलन मस्कबीचको पछिल्लो प्रतिस्पर्धाका रुपमा हेरिएको छ। गत महिना जुकरबर्ग र मस्क दुवैले आफूबीच प्रतिस्पर्धा गर्ने सार्वजनिक रुपमै घोषणा गरेका थिए। तर, उनीहरुले त्यस्तो प्रतिस्पर्धा कहिलेसम्म जारी राख्छन् भन्ने स्पष्ट छैन।

‘धन्य ! राम्रै भयो उनीहरु समझदारीपूर्वक नै कुदिरहेका छन्’, थ्रेड्सबारे मस्कले ट्विटरबाट जबाफ दिएका छन्।

यसैबीच ट्विटरले उसको लोकप्रिय ड्यासबोर्ड ट्विटडेकलाई पनि ३० दिनभित्र निश्चित रकम तिरेरमात्र चलाउन पाइने बनाउने जनाएको छ। ‘ट्विटर ब्लु’का माध्यमबाट प्रयोगकर्तालाई रकम तिराउने उनको प्रयासपछि मस्कको यो पछिल्लो प्रयोगकर्ताबाट पैसा उठाउने योजना हो।

गत शनिबार मस्कले ‘डेटा स्क्रयापिङ’लाई उदृत गर्दै प्रयोगकर्ताले गर्न पाउने ट्विटको संख्यालाई पनि सीमित पारिदिएका थिए।

मेटाको थ्रेड्स एप निःशुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ। ‘थ्रेड्समा समुदायहरु एक स्थानमा आएर आजका चासोका जुनसुकै विषयदेखि भोलि ट्रेन्डिङमा रहने विषयसम्म छलफल गर्न सक्नेछन्’, एप स्टोरमा रहेको उक्त एपको विवरणमा उल्लेख छ।

उक्त एपबाट लिइएका तस्बिर हेर्दा त्यो लगभग ट्विटरजस्तै देखिन्छ। मेटा एप भएकाले थ्रेड्सले प्रयोगकर्ताको फोनमा लोकेसन, खरिद र ब्राउजिङ हिस्ट्रीलगायतका डेटा पठाउन सक्छ।

ट्विटरसँग उल्लेखनीय समानता भएका धेरै एपहरु हालैका वर्षहरुमा आएका छन्। त्यस्ता एपमा डोनल्ड ट्रम्पको ट्रुथ सोसल र मास्टोडनलगायत छन्।

मस्कले प्रयोगकर्ताले गर्न पाउने पोस्टलाई सीमित पार्ने निर्णय गरेसँगै ट्विटरजस्तै अर्को एप ब्लूस्काईले ‘ट्राफिक’ उच्च देखिएको दाबी गरेको छ। यद्यपि थ्रेड्स ट्विटरले सामना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो खतरा हुनसक्छ।

मार्क जकरबर्गले अन्य कम्पनीका सोचहरुलाई लिएर तिनलाई सफल बनाएका उदाहरणहरु छन्। मेटाको रिल्स धेरै हेरिनेमा पर्छ र त्यो टिकटकको नक्कलजस्तो देखिन्छ भने स्न्यापच्याटमा पनि त्यस्तै विशेषता छ।

मेटासँग ट्विटरसँग प्रतिस्पर्धा गर्ने स्रोत पनि छ। थ्रेड्स इन्स्टाग्राम प्लेटफर्मको हिस्सा हुने भएकाले यो लाखौँ प्रयोगकर्तासँग सुरुमै जोडिन पुग्नेछ। त्यस्तै अन्य प्रतिस्पर्धीको जस्तो यो शून्यबाट सुरु भएको पनि हुने छैन। –बीबीसीबाट