काठमाण्डौ । मेरो सेयरमा समस्या आएपछि आज दिउँसोबाट मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन कार्य अवरुद्ध बन्न पुगेको छ। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सरकारको एकीकृत तथ्यांक केन्द्र विद्युत आपूर्तिमा समस्या आउँदा अवरुद्ध बनेका कारण सीडीएससीका सर्भर तथा उपकरणहरु बन्द हुन पुगेको हो। ‘जसका कारण दिउँसो साढे ३ बजेबाट सबै सेवा अवरुद्ध भएको छ’, उनले भने, ‘मर्मत कार्य चलिरहेको छ, छिटै समाधान हुन्छ।’

मैलुङ खोला जलविद्युतको आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन म्याद थियो। तर मेरो सेयरमा समस्या आएपछि लगानीकर्ताहरु आवेदन दिनबाट वञ्चित भएका छन्।

प्रवक्ता न्यौपानेले भने मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थप गरिने जानकारी दिए। ‘करिब डेढ घन्टाको समय थप हुन सक्छ’, उनले भने, ‘प्राविधिक समस्या समाधान भएपछि समय थप हुन्छ।’

समस्या समाधान भएपछि आईपीओमा आवेदन दिने समय थप गरिएकोबारे सूचना निकालेर जानकारी गराइने पनि न्यौपानेले बताए। 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ।कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

हिजो साँझ सवा ५ बजेसम्म यो आईपीओमा १७ लाख ७६ हजार ७११ आवेदकबाट २ करोड ४१ लाख ८३ हजार ४८० कित्ता माग भएको हो। यो हिसाबले यो आईपीओमा मागभन्दा ३५।३१ गुणा बढी कित्ताका लागि आवेदन परेको छ। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो।