काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज कात्तिक १२ गतेबाट झन्डै पौने ६ लाख कित्ता सेयर लिलामीमा राखेको छ।

संस्थाले संस्थापक समूहको ५ लाख ७१ हजार ५९८ कित्ता सेयरा लिलामीमा राखेको हो। यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। बढीमा १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २३ गते बैंकिङ समयसम्म तोकिएको छ।