– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन् । 

बिजशालासँगको कुराकानीमा सीईओ कार्कीले नयाँ ब्रोकर लाइसेन्सका लागि सेबोनले खुला गरेको आवेदनप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन्। ‘सेबोनले नेप्सेको अधिकार क्षेत्र खोसेको विषयमा फेडरेसन अफ वर्ल्ड स्टक एक्सचेन्जमा पनि चर्चा चलेको थियो’, उनले भने। 

सेबोनले थालेको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा तपाइँको पनि मौन स्वीकृत छ भन्छन् नि भन्ने जिज्ञासामा कार्कीले हाँस्दै भने, ‘त्यसो भएको भए त हाम्रो अधिकार खोसिँदैनथ्यो होला नि ! ब्रोकर लाइसेन्स नेप्से नै दिन्थ्यो नि ! त्यो त सबैले बुझ्नुपर्यो । मेरो मौन स्वीकृति भन्नु सतही विचारमात्र हो।’

दसैँअगाडि माल्टामा भएको फेडरेसन अफ वर्ल्ड स्टक एक्सचेन्जको कार्यक्रममा अर्थ मन्त्रायलका अधिकारी र नेप्सेका केही कर्मचारीसहित सीईओ कार्की सहभागी भएका थिए । सेबोनले अहिले ब्रोकर लाइसेन्स वितरणका लागि थालेको प्रक्रिया विश्वमै प्राक्टिस नभएको कार्कीले बताए । ‘रेगुलेटर बडीले सुपरभिजन गर्ने हो, नीति बनाउनेजस्ता काम गर्ने हो’, कार्कीले प्रश्न गरे, ‘नीति बनाउने पनि उही (सेबोन), कार्यान्वयन गर्ने पनि उही भएपछि मोनिटरिङ कसले गर्ने ?’

माल्टा सम्मेलनमा अनौपचारिक कुराकानीका क्रममा अन्य स्टक एक्सचेन्जका प्रतिनिधिहरुले नेपालमा रेगुलेटरले यो गर्न नहुने काम गरेको भन्दै आश्चर्य व्यक्त गरेको कार्कीले सुनाए। ‘नयाँ स्टक एक्सचेन्ज ल्याउन विषय सेबोनकै हो । यसमा हाम्रो भन्नु केही छैन’, उनले भने, ‘तर, ब्रोकर लाइसेन्स नै सेबोनले बाँड्ने भनेको अनौठो र अपवाद भयो।’

सेबोनको यो कार्यले फेडरेसन अफ वर्ल्ड स्टक एक्सचेन्जमा नेपाल सदस्य बन्ने कार्यलाई पनि बाधा पुग्ने कार्कीको भनाइ छ। ‘तर, पनि सरकारले गर्ने निर्णयमा नेप्सेको कुनै पनि अवरोध हुँदैन’, उनले भने। 

हालसम्म ७ वटा कम्पनीबाट आएका निवेदनका आधारमा नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेले सिफारिस गरेको कार्कीले जानकारी दिए।