काठमाण्डौ । भोलि(असार १ गते)देखि मोटरसाइकलमा पनि जोरविजोर प्रणाली लागू हुने भएको छ । 

मन्त्रीपरिषद बैठकले केही दिनअघि लकडाउन खुकुलो बनाउने निर्णय गर्दै निजी सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउनुपर्ने भनेको थियो । तर, त्यसबेला चार पांग्रे निजी सवारी साधनमा मात्रै जोरविजोरको निर्णय फोकस भएको भन्दै मोटरसाइकल लगायतका दुई पांग्रे निजी सवारी साधनमा भने जोरविजोर लागू नहुने भनिएको थियो । 

सरकारकै केही मन्त्रीहरुले मोटरसाइकल, स्कूटर लगायत दुई पांग्रे सवारी साधनमा जोरविजोर लागू नहुने बताएपछि क्याबिनेटको सो निर्णयले अन्यौल सिर्जना गरेको थियो । सो अन्यौललाई चिर्दै गृह मन्त्रालयले मातहतका निकायलाई आइतबार निर्देशन दिंदै मोटरसाइकलमा समेत जोरविजोर प्रणाली लागू हुने र सोहीअनुसार गर्न गराउन भनेको छ । योसँगै मोटरसाइकलमा समेत जोरविजोर प्रणाली लागू हुने अवस्था आएको हो ।

महानगरी ट्राफिक महाशाखाले त सार्वजनिक सूचना नै जारी गरी दुई पांग्रे सवारी साधनको हकमा जोर बिजोर लागू नहुने र २ जना सवार गर्न नपाउने भनेको थियो । ट्राफिक प्रहरीले नै यसो भनेपछि सर्वसाधारण निर्वाध हिँडेका थिए । तर, गृहले भने एकाएक असार १ गतेदेखि दुई पांग्रेमा पनि जोरविजोर लगाउन भनेको हो ।   

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय गरी मातहतका शाखाहरुलाई निर्देशन दिइसकिएको बताए । 

अब दुई पांग्रे सवारी साधन पनि जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका मात्र चलाउन पाइनेछ । 

क्याबिनेटले एक जिल्लाबाट अर्को जिल्लामा निजी सवारी साधन चलाउन नपाइने समेत प्रष्ट पारेको छ । अत्यावश्यक कामका लागि पनि पासका आधारमा चलाउन पाइनेछ । 

काठमाण्डौ उपत्यकालाई भने सरकारले एउटा जिल्ला मानेको छ ।