काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक हुनु केहीअघि बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । 

कारोबार सुरु भएको पहिलो एकघण्टामा नेप्से परिसूचक ११ अंकको हाराहारीमा बढेको छ । यो अवधिसम्म बजारमा साढे ४ करोडको हाराहारीमा सेयर किनबेच भएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ, जसका कारण सेन्सेटिभ इण्डेक्स २.३ प्रतिशतले बढिसकेको छ । 

पहिलो एकघण्टासम्म अन्य समूह बाहेक सबै समूहमा बढोत्तरी भएको छ । यो अवधिसम्म बैंकिंग समूह ८.८१ अंकले बढेको छ भने विकास बैंक समूह ११.४४, जलविद्युत समूह १६.५१, बिमा समूह ६२.४६ अंक तथा माइक्रोफाइनान्स समूह ५४.३५ अंकले बढेका छन् । 

यो अवधिसम्म नेपाल टेलिकमले १ करोड १७ लाख बढीको कारोबार गरिसकेको छ । इन्भेष्टमेन्ट, कुमारी, नवील बैंक कारोबारमा अगाडि छन् । 

मौद्रिक नीतिमार्फत माइक्रोफाइनान्सहरुको चुक्तापूँजी ३ देखि ५ प्रतिशतसम्म बढाउने नीति सार्वजनिक हुने बिषय लिक भएसँगै माइक्रोफाइनान्स समूहमा उछाल देखिएको हो । यही सेरोफेरोमा १५० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको एनएमबी बैंकको कारोबारमा सर्किट ब्रेकर लागेको छ । उछालको गतिमा बढेको यो कम्पनीको मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेकर लागी कारोबार स्थगन गरिएको हो ।