काठमाण्डौ । निराशाजनक मौद्रिक नीति र मुलुकको राजनीतिक परिदृश्यमा देखिन थालेका निरश तस्विरहरुका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि निरन्तरता पायो । 

लगानीकर्ताहरु अहिले अन्यौलको अवस्थामा छन् । राष्ट्रबैंकले अघिल्लो साता सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उनीहरुका अपेक्षित माग पूरा गर्न सकेन । यसबाट निराश बनेका उनीहरुमा बिग्रदो राजनीतिक वातावरण तथा फूटको संघारमा रहेको वर्तमान सत्ता गठबन्धनका कारण थप सशंय पैदा भएको देखिन्छ । सकारात्मक अवस्था नभएका कारण ठूला खेलाडीहरु पनि ‘पर्ख र हेर’को अवस्थामा छन् । 

कतिपय खेलाडीहरुले राजनीतिलाई कारण देखाउँदै सोझा लगानीकर्तालाई फसाउने काम पनि यहीबेला गरिरहेका छन् भने कतिपय चाहिँ राष्ट्रपतिको चुनावसम्म पर्खिने रणनीतिमा छन् । राष्ट्रपति कसलाई चुन्ने भन्ने विषयमा वर्तमान सत्ता गठबन्धन विभाजित छ । माओवादी केन्द्र कुनै पनि हालतमा राष्ट्रपति एमालेलाई नदिने पक्षमा छ भने एमाले चाहिँ जुनसुकै हालतमा राष्ट्रपतिमा आफ्नो उम्मेद्वारलाई जिताएरै छाड्ने रणनीतिमा छ । सत्ताको यो झिनाझम्टीका कारण लगानीकर्ताहरुमा वर्तमान सत्ता फेरि ढल्ने र अर्थमन्त्रीको रुपमा कुनै अनुदार पात्रको प्रवेश हुने भय प्रष्टै देखिन्छ । सेयर बजारका लगानीकर्ता तुलनात्मक रुपमा वर्तमान अर्थमन्त्री विष्णु पौडेलप्रति बढी नै लोयल देखिन्छन् । मौद्रिक नीतिको समीक्षापछि विष्णु पौडेलप्रतिको विश्वास केही कम भए पनि उनले लङटर्ममा राम्रै गर्नेमा धेरै आशावादी देखिन्छन् । 

यसरी हेर्दा अन्यौल नै अन्यौलको भूमरीमा बजारका लगानीकर्ता फस्दा त्यसको प्रतिबिम्ब बजारमा देखिइरहेको छ । यहीकारण बुधबार सेयर बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटेर २०९१.५६ अंकमा सीमित बन्न पुग्यो । 

बजार १३.९० अंकले घट्दा १ अर्ब ७३ करोड बराबको सेयर किनबेच भयो । कारोबारमा आएका कम्पनीमध्ये १७६ वटाको मूल्य घट्यो, ३७ को बढ्यो भने ३ वटाको स्थिर रह्यो । 

यो दिन उत्पादन र प्रशोधन बाहेक सबै उपसमूहको सूचकमा रातो पोतियो । 

उत्पादन तथा प्रशोधन उपसमूह ४६.८० अंकले बढेको यो दिन बैंकिङ उपसमूहमा ६.७९ अंक, विकास बैंक समूहमा २०.२८ अंक, वित्त समूहमा १६.४७ अंक, होटल तथा टुरिजम उपसमूहमा ३९.७२ अंक, जलविद्युत समूहमा २४.५० अंक, लगानी उपसमूहमा ०.४९ अंक, माइक्रोफाइनान्स उपसमूहमा २९.८४ अंक, म्युचुअल फण्डमा ०.१० अंक, निर्जीवन बीमामा ७२.११ अंक, जीवन बीमा समूहमा ११६.३९ अंक, व्यापार समूहमा ९.८३ अंक र अन्य समूहमा १७.१९ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा अपी पावर कम्पनीको सबैभन्दा बढी ६ करोड २० लाखको सेयर किनबेच भयो । 

अरुण काबेली पावर लिमीटेडले ५ करोड ४८ लाख, एनआइसी एशिया बैंकले ४ करोड ६९ लाख, हिमालयन डिस्टीलरीले ३ करोड ७८ लाख तथा ङादी ग्रुप पावरले ३ करोड ६२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनिलिभर नेपाल लिमीटेडको सेयरमूल्य सबैभन्दा बढी अर्थात ८.५४ प्रतिशतले बृद्धि भयो । 

बाराही हाइड्रोपावरको मूल्य ७.५० प्रतिशतले बढेको यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ४ प्रतिशतभन्दा बढीले सम्पत्ति बढाए । 

यो दिन गरिमा डिवेञ्चरको मूल्यमा नकारात्मक सर्किट लाग्यो । यो डिवेञ्चरको मूल्य घटेर प्रति यूनिट ७८७ रुपैयाँमा सीमित बन्न पुगेको छ। 

विजय लघुवित्तका लगानीकर्ताले पनि अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा ५ प्रतिशत हाराहारीले सम्पत्ति गुमाए ।