काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले ब्याजदर घटाउने गरी केही नयाँ व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको छ । कर्जाको ब्याजदर घट्ने, तरलता सहज हुने गरी मौद्रिक नीति आएपछि यसले बजारलाई समेत राम्रो गर्ने अपेक्षामा लगानीकर्ता केही उत्साहित देखिएका हुन् । 

एकातिर बजारमा मौद्रिक समीक्षाको सकारात्मक प्रभाव देखिएको छ भने अर्कोतर्फ बजार घटेर न्यून बिन्दूमा झरेको बेला दोश्रो बजारबाट सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने मौका समेत कतिपय लगानीकर्ताले छोप्न थालेका छन् । यहीकारण बजारमा एकाएक दोहोरो अंकको उछाल आएको हो । 

लगानीकर्ताका नेताहरुले अर्थसमितिमा गएर बजार  कोमामा पुगेको भन्दै भिटामिनको आवश्यकता औंल्याएकै दिन बजारमा दोहोरो अंकको वृद्धिको अनौठो संयोग जुरेको छ । 

यो दिन सेयर बजार परिसूचक(नेप्से) २२.४४ अंकले बढेर ११२४.९६ को विन्दूमा फर्किएको छ । 

यो दिन राम्रा कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.५५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.६२ अंकले बढेको छ । 

यो दिन जीवन बिमा समूह, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहमा उछाल आयो । जीवन बिमा समूह ४.५७ प्रतिशत( २५१.७३ अंक)ले बढेको छ भने माइक्रोफाइनान्स समूह २.९९ प्रतिशत(४१.२८ अंक), निर्जीवन बिमा समूह १५३.९३ अंक( २.९१ प्रतिशत)ले बढेको छ । 

बैंकिङ समूह १४.६९ अंकले बढेको यो दिन होटल समूह २३.०५ अंक, विकास बैंक समूह २१.१६ अंक, जलविद्युत समूह २७.०५ अंक, उत्पादनमूलक समूह ६.१३ अंक र अन्य समूह १५.५४ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६७ कम्पनीका ७ लाख १४ हजार ८७६ कित्ता सेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन अपर तामाकोशीले सबैभन्दा बढी १ करोड २७ लाख बढीको कारोबार गरेको छ । यस्तै, नागरिक लगानीकोषले ९७ लाख, नेपाल बैंकले ८९ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकको ८१ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

छिमेक लघुवित्तले ६१ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले ६० लाख, सनराइज बैंकले ५८ लाख, नेपाल लाइफ इन्स्योरेन्स ५७ लाख, सिभिल बैंकले ५० लाख र प्रभू ४९ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दुई कम्पनीका लगानीकर्ता मालामाल भए ।  चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयरमा सबैभन्दा बढी गिरावट आयो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लाग्यो ।