काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । 

मौद्रिक नीतिमा सेयर बजारलाई उत्साहित बनाउने खालको नीति नआएपछि लगानीकर्ताहरुले बिक्रीमा जोड दिन थाल्दा बजारमा दोहोरो अंकको गिरावट आएको हो । 

मौद्रिक नीतिमा बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बजारमा लगानी हुने पैसा ऋणपत्रमार्फत बैंकमा थुप्रिने र तरलता अभाव हुने विश्लेषणले बजारलाई बिगारेको एक विज्ञ बताउँछन् । 

अर्कोतर्फ, बैंकहरुको स्प्रेड दर घट्ने र सेवा शुल्कमा समेत थप कसिएपछि यसले आम्दानी घटी बैंकहरुको लाभांश क्षमता समेत घट्नसक्ने कतिपयको आँकलन रहेको देखिन्छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको नीति आएसँगै लगानीकर्ताहरुले उठाउँदै आएको मर्जर सम्झौतापछि नै सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको विषय सम्बोधन हुन सकेन । यसले आगामी दिनमा बजारमा सबैभन्दा ठूलो हिस्सा बोकेर बसेको बैंक तथा वित्तीय संस्था ठूलै संख्यामा मर्जरमा गए सेयर कारोबार रोक्का हुने र त्यसले ठूलो परिमाणमा सेयरको आपूर्ति घटाई बजार सुनसान बनाउने तर्कले समेत बजार घटाउन काम गरेको एक जानकार बताउँछन् । 

समग्रमा मौद्रिक नीतिले बजारका लागि केही पनि नबोलेको बुझेका लगानीकर्ताहरुले सेयर बिक्री बढाउँदा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । 

यो दिन १४.१५ अंकले बजार घटेर १२६९.९२ को विन्दूमा सीमित हुन पुगेको छ । राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप हुँदा सेन्सेटिभ इण्डेक्स २.६६ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.०६ अंकले घट्यो । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह १२.५६ अंकले घटेको यो दिन होटल समूहमा ३२.८४ अंक, विकास बैंक समूहमा १८.७६ अंक, माइक्रोफाइनान्स समूहमा १९.६८ अंक, वित्त समूहमा ३.८४ अंकले घटे । 

जलविद्युत समूह २१.५४ अंक, जीवन बिमा समूह ५३.५४ अंक, निर्जीवन बिमा समूह ८४.३५ अंक, उत्पादन तथा प्रशोधन समूह १५.४८ अंक, म्युचुअल फण्ड समूह ०.११ अंक, अन्य समूह ५.१४ अंक र ट्रेडिङ समूह २.६२ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता सेयर ५५ करोड ५ लाख ३२ हजार १४६ रुपैयाँमा किनबेच भएको छ । 

चौथो त्रैमासमा निकै राम्रो नाफा कमाएको प्रभू बैंकले सबैभन्दा बढी ६ करोड १७ लाख बढीको कारोबार गरेको छ । 

कृषि विकास बैंकले ४ करोड १८ लाख, नेपाल बैंकले ३ करोड ९९ लाख, अपर तामाकोशीले २ करोड ४६ लाख, मेगा बैंकले २ करोड ११ लाख, एनआइसी एशियाले १ करोड ५६ लाख, लुम्बिनी विकास बैंकले १ करोड ४७ लाख, सिभिल बैंकले १ करोड ४३ लाख, एनसीसी बैंकले १ करोड ४० लाख बढीको कारोबार गरे । 

यस्तै, एनसीसी बैंकको १ करोड ३० लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल ल्यूब आयल लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन यूनियन हाइड्रो लिमीटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.५७ प्रतिशतले घट्यो ।