काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाएका छन्। 

आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले त्यो विषयलाई गम्भीर रुपमा लिन निर्देशन दिए। 

मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुलटेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न शर्माले सचेत गराए। ‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो’, उनले भने, ‘यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुहोस्।’

पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको उल्लेख गर्दै शर्माले प्रवक्ता र कार्यालयको वेबसाइटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन पनि दिए। 

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए।