काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) साताको अन्तिम कारोबार दिन आज दोहोरो अंकले घटेको छ । 

राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाको प्रतिक्षामा रहेका लगानीकर्ताका लागि उत्साहित बनाउने विषय नसमेटिएपछि आज बजारमा सस्तो मूल्यमै सेयर बिक्री गर्ने ट्रेण्ड केही बढेको देखियो । अघिल्लो दिनको तुलनामा बजारमा सेयर सस्तोमै फाल्ने प्रवृति केही बढेका कारण कारोबार रकम बढ्यो भने परिसूचकमा भने करिब १६ अंकको गिरावट देखियो । 

यो दिन नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ को विन्दूमा सीमित बन्न पुग्यो भने कारोबार रकम चाहिँ बढेर १ अर्ब २९ करोड माथि पुग्यो । 

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा नेपाल राष्ट्रबैंकले लगाएको ४ र १२ करोडको क्याप हट्ने लगानीकर्तामा झिनो अपेक्षा थियो, जुन सम्बोधन भएन । यस्तै, मौद्रिक नीतिको समीक्षामार्फत भविष्यमा ब्याजदर बढाएरै भए पनि वित्तीय स्थायीत्व कायम गर्ने प्रष्ट कुरा आएकोले यसबाट लगानीकर्ता हतोत्साही बन्दा बजार परिसूचक घट्न पुगेको देखिन्छ । 

बजार जानकार प्रकाश रजौरेको भनाईमा मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाले लगानीकर्तालाई निराश बनाउँदा त्यसको प्रतिबिम्ब आजको बजारमा देखिएको हो । ‘मुख्य रुपमा बजारमा दुईवटा दवाब देखिन्छन् ।’ उनले थपे–‘एउटा ४ र १२ करोडको दवाब र अर्को असार मसान्तको ब्याज तिर्ने तयारीको दवाब ।’ 

उनले यिनै दवाबका कारण कतिपयले सस्तोमै सेयर बिक्रीको हतारो गर्दा हिजोको तुलनामा कारोबार रकम भने बढेको दाबी गरे । 

रजौरेको विचारमा राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षा गर्दै गर्दा ४–१२ को व्यवस्थामा कुनै परिवर्तन नगरे पनि लगानीकर्ताले यस विषयमा उठाउँदै आएको माग सर्कुलरमार्फत एक वर्षको ग्रेस पिरियडसहित सम्बोधन हुनसक्छ । ‘किनभने सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सेयर बजारलाई उत्पादनमूलक क्षेत्र भनी स्वीकार गरेको छ ।’ उनले थपे–‘यसबाट समेत लगानीकर्ताको माग ढिलोचाँडो सम्बोधन हुने आशा राख्न सकिन्छ ।’ 

सक्रिय लगानीकर्ता दामोदार गजुरेलले पनि आज बजार घट्नुमा मौद्रिक नीतिको समीक्षाकै मुख्य भूमिका रहेको बताए । मौद्रिक नीतिको समीक्षाले स्पष्ट रुपमा ब्याजदर बढ्ने संकेत गरेको र यसबाट लगानीकर्ताको मनोबल थप घटेको उनको भनाई छ । 

प्राविधिक रुपमा पनि बजार ‘लोअर लो’तर्फ लागेको देखिने उल्लेख गर्दै उनले भने–‘प्राविधिक रुपमा बजारमा तत्कालै ठूलो उतारचढाव भइहाल्ने अवस्था चाहिँ देखिन्न ।’ 

बजारमा के–के भयो ?
यो दिन होटल र टुरिजम बाहेकका सबै उपसमूहको सूचक राताम्मे भयो । 

होटल एण्ड टुरिजम उपसमूह २.४ अंकले बढ्यो भने बैंकिङ उपसमूहमा ६.०८ अंक, विकास बैंक उपसमूहमा ३७.५४ अंक, बित्त उपसमूहमा २२.३६ अंक, जीवन बीमातर्फ ७८.८१, निर्जीवन बीमातर्फ  ६८.४६ अंकको गिरावट देखियो । 

यसैगरी, व्यापार समूह १३.१५ अंकले घटेको यो दिन जलविद्युत समूहमा २९.७३ अंक, उत्पादन तथा प्रशोधन समूह ३७.८१ अंक, माइक्रोफाइनान्स २०.७५ अंक र अन्य समूह २९.९८ अंकले घट्न पुगे। 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन प्रभू बैंकको संस्थापक सेयरको सबैभन्दा बढी १७ करोड ६० लाख बढीको कारोबार भयो । 

बजारमा अर्को वाणिज्य बैंकसँग मर्जरमा जाने हल्ला चलेका कारण हिजोदेखि लगानीकर्ताको छनौट बनेको मेगा बैंकको सेयरमा यो दिन आकर्षण देखियो । जसका कारण यो दिन मेगा बैंकले ९ करोड ८२ लाख बढीको कारोबार गर्यो । 

यस्तै, अरुण हाइड्रोपावरको ४ करोड ६२ लाख, अरुण काबेलीको ३ करोड ८२ लाख, नवील बैंकको ३ करोड ५७ लाख, अपर तामाकोशीको २ करोड ९९ लाख, एनआइसी एशिया बैंकको २ करोड ७५ लाख, अपी पावर कम्पनीको २ करोड ६९ लाख, हिमालयन डिस्टीलरीको २ करोड ५३ लाख तथा आइसीएफसी फाइनान्सको १ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६.१३ प्रतिशतले बढ्न पुग्यो । 

यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा ५.३१ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन दिव्यश्वरी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यी दुई कम्पनीको सेयरमूल्य क्रमशः ३.७५ र ३.७४ प्रतिशतले घट्यो ।