काठमाण्डौ । दोश्रो बजारको बिषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुमाझ म्युुचुुअल फण्ड(सामूहिक लगानीकोष) लगानीको राम्रो विकल्प हो । सर्वसाधारण लगानीकर्ताहरुको यही आकर्षणका कारण नेपाली पूँजीबजारमा एकपछि अर्को गर्दै यस्ता फण्डहरु संचालन हुन थालेका छन् । यही क्रममा सिबीआइएल क्यापिटल लिमीटेडलाई समेत धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको इकाई निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले सोमबार कम्पनीलाई १० रुपैयाँ प्रतिकाईका दरले १० करोड इकाईको सार्वजनिक निश्कासनका लागि स्वीकृति दिएको हो । 

एकहप्ताको अवधिमा इकाई निश्कासनका लागि अनुमति पाएको यो दोश्रो म्युचुुअल फण्ड हो । यसअघि पुस ११ गते बोर्डले एनआइसी एशिया ग्रोथ फण्डलाई समेत इकाई निश्कासनको अनुमति दिएको थियो । 

सीबीआइएल क्यापिटलको पहिलो स्किम सिटिजन्स म्युुचुुअल फण्ड १ को प्रायोजन सिटिजन्स बैंक इन्टरनेशनलले गरेको छ । सीबीआइएल क्यापिटल बैंकको सहायक कम्पनी हो । जसले सेयर निश्कासन तथा बिक्री प्रबन्धकसँगै पोर्टफोलिया म्यानेजमेन्ट, निक्षेप सदस्य सेवा, लगानी परामर्श सेवा लगायतका काम गर्दै आएको छ । 

फण्डलाई १० करोड इकाई निश्कासनको अनुमति दिइए पनि त्यसको १५ प्रतिशत फण्ड प्रायोजक सिटिन्जस बैंकका लागि छुट्याइने छ । निश्चित इकाई बजारमा रहेका म्युचुुअल फण्डहरुका लागि छुट्याइने छ भने बाँकी इकाईमा सर्वसाधारणले लगानी गर्न पाउनेछन् । 

सिद्धार्थ क्यापिटलको पहिलो म्युुचुुअल फण्ड हालै परिपक्व भएको छ भने त्यसबाहेक १२ वटा यस्ता फण्ड संचालनमा रहेका छन् । संचालित फण्डमध्ये सबै नै बन्दमुखी स्किम रहेका छन् । नेपालमा अझै पनि खुल्लामुखी फण्डको अवधारणा कार्यान्वयनमा आउन सकेको छैन ।