काठमाण्डौ । सरकारले बर्खास्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले आफू बोर्डमा आएर फसेको बताएका छन्।

बिजशालासँग कुरा गर्दै ढुंगानाले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेको मान्छे धितोपत्र बोर्डमा आउँदा फसेको दाबी गरेका छन्। ‘त्यसबेला पनि मलाई यहाँ आउन मन थिएन’, उनले भने, ‘अर्थमन्त्री डा. युवराज खतिवडाले जोड गरेपछि आएको हुँ। अहिले त सरकारले नराम्ररी फसाइदियो।’

डा. खतिवडाले गभर्नरमा महाप्रसाद अधिकारीलाई लैजाने भएपछि आफ्नो व्यवस्थापनका लागि बोर्डमा पठाएको पनि ढुंगानाले बताएका छन्। ‘तर, म त राष्ट्र बैंकको अनुभवी मान्छे थिएँ’, उनले भने, ‘म त्यहाँ नगएको भए गभर्नर बन्थेँ, दशा लागेर बोर्ड गएछु।’

ढुंगानाले सरकारले फरक विचार राख्ने आफूजस्तालाई छानी–छानी प्रहार गरेकोसमेत दाबी गरेका छन्। ‘तर हाम्रो पार्टीको सरकार हुँदा निषेधको व्यवहार भएको थिएन’, उनले थपे, ‘चिरञ्जीवी नेपाल, रेवत कार्की र बीमा समितिका चिरञ्जीवी चापागाईंले पूरा कार्यकाल काम गर्न पाएका थिए।’

ढुंगानाले आफू सरकारको निर्णयविरुद्ध दसैँपछि सर्वोच्च अदालत जानेसमेत बताए।