काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको सेयर खरिद गर्ने अनुमति पाएको छ। 

नेपाल बीमा प्राधिकरणले एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको हो। ‘एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो’, प्राधिकरणका प्रवक्ता राजुरमण पोडेलले बिजशालासँग भने, ‘प्राधिकरणले सबै मापदण्ड हेरेर सेयर किन्न अनुमति प्रदान गरेको छ।’

एसियन लाइफले केही महिनाअघि यती एयरलाइन्सको डीडीए तयार गरेर प्राधिकरणमा सेयर किन्नका लागि स्वीकृति माग गरेको थियो। प्राधिकरणले अधिकतममा प्रतिकित्ता १७० रुपैयाँसम्म सेयर किन्न अनुमति दिएको छ। 

एसियन लाइफका सूचना अधिकारी होमबहादुर श्रेष्ठले प्राधिकरणबाट यती एयरलाइन्सको सेयर किन्न कम्पनीले अनुमति पाएको बताए। ‘प्राधिकरणबाट यती एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्न कम्पनीले स्वीकृत पाएको छ’, उनले बिजशालासँग भने, ‘यसबार विस्तृत रुपमा छिट्टै कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराउनेछ। 

आर्थिक संकट गहिरिँदै गएपछि व्यवसायलाई ट्रयाकमा ल्याउन यती एयरलाइन्सले आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको थियो। सेयर बिक्रीबाट प्राप्त रकम थप व्यवसाय विस्तार गर्न परिचालन गरिने यती एयरलाइन्सका एक अधिकारीले जानकारी दिए। ‘कम्पनीको एसियन लाइफसँग आन्तरिक रुपमा सहमति भएअनुसार नै प्राधिकरणले ४९ प्रतिशत सेयर किन्न अनुमति दिएको सुनिएको छ’, ती अधिकारीले भने, ‘१–२ दिनमा यसबारे सबै कुरा थाहा होला।’ 

ती अधिकारीका अनुसार एसियन लाइफलाई सेयर बिक्री गरेपछि कम्पनीले आईपीओ ल्याउने तयारी पनि गरिरहेको छ। आईपीओ ल्याउनकै लागि ३ महिनाअघिमात्रै प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।

हाल यती एयरलाइन्सको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एसियन लाइफले चुक्तामूल्यमा अधिकतममा ७० रुपैयाँ प्रिमियम थपेर यती एयरलाइन्सको सेयर खरिद गर्नेछ। 

प्राधिकरणले एसियन लाइफ इन्स्योरेन्सलाई अधिकतममा १ अर्ब ७५ करोड रुपैयाँसम्म यती एयरलायन्समा लगानी गर्न अनुमति दिएको छ।

हाल यती एयरलाइन्ससँग ५ वटा एटीआरसहित ७२ विमान छन्।