काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमले वृद्धि गरिएको ब्याजदर यथाशीघ्र पुनरावलोकन गर्न आग्रह गरेको छ। 

फोरमका अध्यक्ष तुलसीराम ढकालले आज एक प्रेस विज्ञप्तिमा जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘पुँजीबजारको दिगो विकास र विस्तारले मात्रै देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक तथा वित्तीय संस्थाहरुले सम्पूर्ण उद्योग, कलकारखाना, व्यापार र लगानीकर्ताको भावना र मर्मविपरीत एकतर्फी रुपमा तरलता संकट देखाउँदै सम्पूर्ण लगानीका क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथाशीघ्र पुनरावलोकन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ। 

पुँजीबजार विभिन्न समयमा भएका अस्थिर नीतिगत परिवर्तनले अत्याधिक उतारचढावको कामना गर्न लगानीकर्ता बाध्य हुनुपरेको पनि विज्ञप्तिमा जनाइएको छ। 

आर्थिक समृद्धि अभियानलाई मूर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पुँजी निर्माणको निर्विकल्प आधार पुँजीबजार नै रहेको फोरमको ठहर छ। त्यसैले पुँजीबजारको विकास र विस्तारका लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरु संयमित, धैर्यता र सुझबुझका साथ लगानी गर्न पनि फोरमले आग्रह गरेको छ।