काठमाण्डौ । पूँजीबजार सुधार तथा ब्याजदर नियन्त्रणको उपायहरुमा सरकार गम्भीर देखिएपछि यसको प्रभाव सेयर बजारमा समेत परेको छ । 

अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन धमाधम बनाइरहँदा र त्यसमा ब्याजदर नियन्त्रण तथा पूँजीबजार सुधारका धेरै राम्रा अजेण्डा समावेश परेको खबरले बजारमा उछालको अवस्था देखिएको हो । 

यो पटक अर्थमन्त्री स्वयम् समेत पूँजीबजारको विकास तथा बिस्तार र यहाँ देखिएका समस्या समाधानमा गम्भीर छन् भन्ने सन्देश प्रवाह भएकोले समेत लगानीकर्ताको मनोबल उच्च देखिएको छ । 

योसँगै घटेर न्यून विन्दूमा पुगेको बजारमा राम्रा कम्पनीको सेयर समेत सस्तोमा पाइने भएपछि लगानीकर्ताले यो अवसरलाई समेत छोप्न खोज्दा खरिदको उच्च चाप देखिएको छ । लगानीकर्ताहरुले सस्तोमा पाइने वाणिज्य बैंकका सेयरमा बढी मरिहत्ते गरिरहेका देखिएको छ । 

यिनै कारणले साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेर ११६७.६७ को विन्दूमा पुगेको छ । 

राम्रा कम्पनीको सेयरमा उच्च खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ३.९८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि १.४८ अंकको बढोत्तरी देखिएको छ । 

यो दिन बजारमा उत्पादनमूलक समूहको सूचक ८.४३ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । 

निर्जीवन बिमा समूह सबैभन्दा बढी ३.२९ प्रतिशत अर्थात १६७.२१ अंकले बढेको छ । यस्तै, माइक्रोफाइनान्स समूह २.९६ प्रतिशत(३७.५२ अंक), जीवन बिमा समूह २.५९ प्रतिशत(१३३.३७ अंक)ले बढेका छन् । 

यसैगरी, बैंकिङ समूह १७.७६ अंकले बढेको छ भने विकास बैंक समूहमा १०.२२ अंक, होटल समूहमा ३०.३८ अंक, जलविद्युत समूह ४.६२ अंक, बित्त  समूह ३.१५ अंक र अन्य समूह ३.४१ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका १४ लाख ७ हजार ५ सय ३४ कित्ता सेयर ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकले ५ करोड ७७ लाख बढीको कारोबार गरेको छ । 

नेपाल बैंकले ५ करोड ३२ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ७३ लाख बढीको कारोबार गर्यो भने आइएमई जनरल इन्स्योरेन्सको २ करोड ६२ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

बैंक अफ काठमाण्डू लिमीटेडले २ करोड ४६ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १ करोड ८३ लाख, एनसीसी बैंकले १ करोड ७३ लाख, प्रभू बैंकले १ करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९९ लाख र सिभिल बैंकले ९६ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा उछाल आएको यो दिन चारवटा कम्पनीका लगानीकर्ताले कुस्त कमाएका छन् । यो दिन मिर्मिरे लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो । 

आरम्भ माइक्रोफाइनान्स र कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समेत १० प्रतिशतकै हाराहारीमा कमाए । तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा ९ प्रतिशतको हाराहारीले बढोत्तरी भयो । 

यो दिन रैराङ हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.४६ प्रतिशतले घट्यो । 

नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्यमा पनि ४.१६ प्रतिशतको गिरावट आयो ।