काठमाण्डौ । बजारलाई प्रभाव पार्नसक्ने ठूला समूहमा गिरावटसँगै समग्र बजार परिसूचक(नेप्से) बिहीबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ८.१९ अंकले घटेर १६५३.५३ विन्दूमा झरेको हो । कारोबार रकममा भने बढोत्तरी भएको छ । 

लामो समयसम्म थोरै अंकको दरले समेत बढेको बजारमा लगानीकर्ताहरु प्रोफिट बुक गर्नतर्फ लाग्दा बजार घट्न थालेको हो । केही समय बजार बढेपछि हतारमा प्रोफिट बुक गर्ने प्रवृति मुख्य रुपमा सर्टटर्म कारोबारीमा हुन्छ । तर, यो प्रवृति पछिल्लो समय अन्य लगानीकर्तामा पनि देखिएको छ । घाटा खानु भन्दा बढेको बेला सेयर बिक्री गरेर थोरै भए पनि नाफा कमाइहाल्ने प्रवृतिले बजार घटाउन थालेको विश्लेषकहरु बताउँछन् ।

साताको अन्तिम कारोबार दिन बिहीबार बित्त र उत्पादनमूलक समूह बाहेक अन्य सबैमा रातो पोतियो । बित्त समूह १.१ अंकले बढ्यो भने उत्पादनमूलक समूहमा १२.३४ अंकको बढोत्तरी भयो । बैकिंग र बिमा समूहमा क्रमशः ९.९१ र १६.७५ अंकको गिरावट भयो । यी दुई समूह नेपाली सेयरबजारका गेम मेकरको रुपमा रहेका छन् । यिनीहरुको बजारमा बलियो प्रभूत्व भएका कारण यी दुई समूह बढदा समग्र बजार परिसूचक बढ्ने र घट्दा घट्ने प्रवृति देखिन्छ । 

यस्तै, बिहीबार होटल समूह ४.४६, विकास बैंक समूह १२.३६, जलविद्युत समूह २.३७ र अन्य समूह ३.७६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.६७ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको अन्तिम कारोबार दिन बिहीबार कुल १ सय ६१ कम्पनीका २० लाख १० हजार ४ सय ७७ कित्ता सेयर ९२ करोड ७९ लाख ३० हजार २ सय ३९ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नागरिक लगानी कोषले कारोबार गर्यो । यो कम्पनीको ६ करोड ६४ लाख बढीको सेयर किनबेच भयो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ४ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ८९ लाख, नेपाल इन्स्योरेन्स कम्पनी ले २ करोड ६१ लाख बढीको कारोबार गर्यो । यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको २ करोड ३६ लाख बढीको कारोबार भएको बजारमा एभरेष्ट बैंकले २ करोड ३१ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड १३ लाख, फरवार्ड माइक्रो फाइनान्सले २ करोड ४ लाख, नबील बैंकले १ करोड ७८ लाख र नेको इन्स्योरेन्सले १ करोड ७७ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
प्रोग्रेसिभ फाइनान्स लिमीटेड बिहीबार सबैभन्दा धेरै कमाउने कम्पनी बन्न सफल भयो । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि ७ प्रतिशतको हाराहारीमा वृद्धि देखियो । 

साताको अन्तिम कारोबार दिन बिहीबार कुबेर मर्चेन्ट फाइनान्स लिमीटेड र लक्ष्मी भ्यालू फण्ड १ ले सबैभन्दा धेरै गुमाए । यी दुई कम्पनीको मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो ।