काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजार पुनः सुस्ताएको छ । कारोबार रकम न्यून भए पनि पछिल्लो समय थोरै थोरै अंकले बढिरहेको बजारमा पुनः ब्रेक लागेको हो । बहुसंख्यक लगानीकर्ता नयाँ सरकार गठन र त्यसले अंगिकार गर्ने आर्थिक तथा सेयर  बजारसँग सम्बन्धित नीतिको प्रतिक्षामा  छन् । यही प्रतिक्षाका कारण धेरै अहिले बजारमा  सक्रिय छैनन् ।

सक्रिय रहेका थोरै लगानीकर्ता पनि पर्खदै र अवस्था हेर्दै सेयर किनबेचको निर्णय लिइरहेका छन् । लगानीकर्ताहरुको यही रणनीतिका कारण बजार अपेक्षित  गतिमा बढ्न सकेको छैन । 

त्यसो त सेयर कारोबारमा भ्याट लाग्ने बिषय, पारदर्शी ढंगले कमाएको सम्पत्ति मात्र बजारमा लगानी गर्न पाउने पछिल्लो व्यवस्था लगायतको बिषयले समेत बजारमा  चमक  फर्काउन सकेको छैन । भ्याटबाट तर्सिएका लगानीकर्ता अझै अन्यौलमै छँदा पर्ख र हेरकै रणनीतिमा छन् । उता, कालोधन आर्जन गरेर त्यसलाई सेयर बजारमा ल्याई स्वेत बनाउँदै आएका ठूला समूहरु समेत अहिले तर्सिएको अवस्था छ । 

यिनै कारणहरुले बजार निरश गतिमा कुदिरहेको हो  । 

सोमबार बजारमापक नेप्से परिसूचक ३.७२ अंकले घटेर १४०२.२३ अंकमा सीमित बन्न पुगेको  छ । यो दिन व्यापार समूह ६.३३  र जलविद्युत समूह १.१४ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैकिङ समूह ४.०४ अंकले घटेको छ भने बिमा समूह, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ०.६५ अंक, ५.७१ र ३.५८ अंकले घटेको छ । होटल समूह २१.३६ अंक, बित्त समूह ३.७८ अंक, अन्य समूह ३.०१ अंकले घटेकोछ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार शिथिल भएका कारण सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३५ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६० कम्पनीका ७ लाख १५ हजार ८ सय ५४ कित्ता सेयर २८ करोड ५५ लाख ३६ हजार ४ सय  २४  रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४९ करोड बढीको कारोबार गरेकोछ । यस्तै, नवील बैंकले १ करोड २२ लाख, नेपाल बैंकले १ करोड १२ लाख, राष्टिय बिमा कम्पनी  लिमीटेडले १ करोड १ लाख,  सानिमा बैंकले ९६ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ९३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सोही बैंकको ९० लाख बढीको साधारण सेयर समेत कारोबार भयो । एनएमबी बैंकले ८५ लाख, एनएलजी इन्स्योरेन्सले ८३ लाख र एभरेष्ट बैंकले ८१ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो  दिन बजारमा सिन्धु विकास बैंक र विशाल बजार कम्पनीका लगानीकर्ताले कमाए । सिन्धुको  सेयर मूल्य ४.०३ र विशाल बजारको ४.०२ अंकले वृद्धि भयो ।

यस्तै, मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो  कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।