काठमाण्डौ । लाभांशको मौसम, ब्याजदरमा क्रमिक रुपमा भइरहेको सुधार, बैंकिङ प्रणालीमा सुधारिएको तरलताको अवस्था, मार्जिन लोनमा आएको सहजता र राम्रा कम्पनीको सेयर अझै सस्तोमै पाइने अवसरका कारण सेयर बजार साताको पहिलो कारोबार दिन बढेको छ । यो दिन नेप्से परिसूचक २.६१ अंकले बढेको छ भने कारोबार रकम समेत बढेर ६९ करोड २६ लाख माथिको उचाईमा पुगेको छ । 

बजार परिसूचकसँगै कारोबार रकममा समेत राम्रो सुधार हुनुलाई विज्ञहरुले भविष्यका लागि सुखद संकेत मान्छन् । ठूला लगानीकर्ता सेयर खरीदबिक्रीमा सक्रिय रहेकोले समेत कारोबार रकमले लोभलाग्दो उचाई मेन्टेन गरिरहेको हो । 

यो दिन बजारका ६ समूहको सूचक बढेका छन् भने ५ समूहको सूचकमा गिरावट आएको छ । 

बैंकिङ समूहको सूचक ८.८४ अंकले बढेको यो दिन व्यापार समूह ९.७१, होटल समूह ७.४४, विकास बैंक समूह १.४३, जलविद्युत समूह ६.३९ र बित्त समूह २.४३ अंकले बढेको छ । 

यो दिन निर्जीवन बिमा समूह ६२.६३ अंकले घटेको छ भने जीवन बिमा समूह २३.४७ अंक, माइक्रोफाइनान्स समूह ८.९२ अंक, उत्पादनमूलक २.३३ र अन्य समूह ८.९९ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले बढेको यो दिन समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको सुधार देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकले ७ करोड ४ लाख बढीको कारोबार गरेको छ । 

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडको ६ करोड ७८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा ग्लोबल आइएमई बैंकले ६ करोड ४२ लाख, प्रभू बैंकले ५ करोड ८६ लाख, एनएमबी बैंकले ३ करोड ८९ लाख, नेपाल बैंकले ३ करोड ८ लाख, कुमारी बैंकले २ करोड १९ लाख, जनता बैंक नेपालले १ करोड ४७ लाख, एभरेष्ट बैंकले १ करोड ३५ लाख र सानिमा बैंकले १ करोड ३२ लाख बढीको कारोबार गरे।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भयो । प्रभू बैंकका लगानीकर्ताले ६.४५ प्रतिशतले सम्पत्ति बढाए । 

यो दिन कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले घट्यो ।