काठमाण्डौ । निरन्तर घट्दो बजारमा दोहोरो अंकको उछाल देखिएको छ । बैंक तथा बित्तीय संस्थाहरुमा कायम तरलताको संकटको अस्थायी समाधानको उपाय निस्किएको खबरले लगानीकर्तालाई चलायमान बनाइदिएको हो । अर्कोतर्फ, केही विश्लेषकहरुले बियरिस ट्रेण्ड सकिन लागेको विश्लेषण सार्वजनिक गरेपछि त्यसले बजारमा सकारात्मक प्रभाव पारेको हो । 

अर्थमन्त्रालयले नियमावली संसोधन गर्दै संघीय सरकारले स्थानीय निकायलाई निकासा गर्ने बजेटको ५० प्रतिशत वाणिज्य बैंकहरुले निक्षेपको रुपमा प्रयोग गर्न पाउने व्यवस्था गरिदिएको थियो । यो व्यवस्थाका कारण सोमबार नै वाणिज्य बैंकहरुको खातामा ४० अर्ब रुपैयाँ लगानीयोग्य पूँजी पुगेको थियो । योमध्ये पनि २० अर्ब पैसा निजी बैंकहरुको खातामा पुगेपछि यसले तरलताको तत्कालीन समस्या हल हुने बैंकरहरुको दाबीसहितको  समाचार प्रकाशन गरिएको थियो । यसले तरलता र बैंकको ब्याजदर केही सहज हुने आँकलनसहित लगानीकर्ताले बजारमा खरिदारी बढाएका देखिएको छ । 

मंगलबारको बजार वृद्धिमा नवील बैंक र ग्लोबल आइएमई बैंकको बोनस सेयरसहितको लाभांश घोषणाले समेत केही न केही प्रभाव पारेको देखिएको छ । 

यसैगरी, सोमबार बजारका केही विश्लेषकले बिजशालामार्फत आफ्नो विश्लेषण सार्वजनिक गर्दै बियरिस साइकल अन्त हुन लागेको दाबी गरेका थिए । यसअघि प्राविधिक विश्लेषकहरुले समेत डिसेम्बरसम्म मात्र बजारको गिरावट कायम रहने बताएका थिए । यसले समेत लगानीकर्तालाई सेयर बजारमा चलायमान राख्न मद्धत गरेको देखिन्छ । 

अर्कोतर्फ, दोश्रो बजारमा धेरै कम्पनीको सेयर मूल्य घटेर न्यून विन्दूमा झरिसकेको छ । निकै सस्तो मूल्यमा सेयर किन्न पाइने भएपछि यसलाई अवसरको रुपमा प्रयोग गर्नेहरुको सक्रियताले समेत बजार माथि उठाउन मद्धत पुगेको हो । 

मंगलबार बजार परिसूचक १०.२७ अंकले बढेर ११४२.०१ को विन्दूमा फर्किएको हो । 

व्यापार र होटल समूह बाहेक बाँकी सबै समूहको सूचक हराभरा भए । 

बैंकिङ समूह ७.२२ अंकले बढेको यो दिन विकास बैंक समूहमा ३२.०२ अंक, जलविद्युत समूहमा ७.४४ अंक, बित्त समूहमा २.५२ अंक, निर्जीवन बिमा समूहमा १५.११ अंक, जीवन बिमा समूहमा २०.०१ अंक, माइक्रोफाइनान्स समूहमा ७.४५ अंक तथा अन्य समूहमा १८.६९ अंकको बढोत्तरी भएको छ ।

यो दिन व्यापार समूह ०.५१ अंकले घट्यो भने होटल समूहमा ३.८१ अंकको गिरावट देखियो ।  

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका १२ लाख २२ हजार १ सय ४४ कित्ता सेयर ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ बढीमा कारोबार भयो । 

यो दिन पनि सबैभन्दा बढी नेपाल बैंकले नै कारोबार गर्यो । यो बैंकले ११ करोड ४२ लाख बढीको कारोबार गर्यो । 

ग्लोबल आइएमई बैंकले ३ करोड ३७ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले २ करोड १२ लाख, एनआइसी एशियाले १ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २९ लाख, नवील बैंकले १ करोड १८ लाख, नेपाल एसबीआई बैंकले ९२ लाख, प्रभू बैंकले ८८ लाख बढीको कारोबार गरे । 

नवील बैंकको ७५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कुमारी बैंकले ७४ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन लक्ष्मी लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट ब्रेक लाग्यो । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्प्नीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले गिरावट आयो ।