काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्या पहिचानका लागि अर्थमन्त्रालयबाट भएको प्रयास र अन्य सम्बद्ध निकायले बढाएका सक्रियतासँगै बजारका लगानीकर्ताको मनोबल बढेको छ । अर्थमन्त्रीले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठनसँगै लगानीकर्ता आशावादी भएका छन् । सो समितिको बैठकले आइतबार बसी काम अगाडि बढाएको खबरले लगानीकर्ताको मनोबल थप बलियो बनेको देखिएको छ। 

अर्थमन्त्रालयको सक्रियतासँगै बजारको नियामक धितोपत्र बोर्डले समेत बजार बढ्ने उपयुक्त समय यही भएको दाबी गर्दै केही आधारहरु समेत प्रस्तुत गरेपछि त्यसबाट पनि लगानीकर्ता आशावादी देखिएका छन् । 

यही बेला नेप्सेले अनलाइन कारोबार प्रणाली ब्रोकरले पत्याएका लगानीकर्ताको हातमा पुर्याएको छ । बैंक र डिम्याट इन्टीग्रेसनबिनाकै अनलाइन सीमित लगानीकर्ताको हातमा पुगे पनि यसबाट नेप्से लगानीकर्तासँग भएको सम्झौता र त्यसबेला तोकिएको कार्यतालिकाप्रति इमानदार देखिएपछि यसबाट समेत लगानीकर्ताको मनोबल बलियो बनेको देखिएको छ । 

यही बेला बजार बिस्तार र विकासका लागि लगानीकर्ताहरुको समूहले रिले अनसन सुरु गरेको छ । यसबाट सम्बद्ध निकायमा दवाब परेको खबरसँगै बजारमा सकारात्मक परिवर्तन र सुधार हुने अपेक्षामा लगानीकर्ताले खरिदारी बढाएका छन् । यही बेला बैंकर्स संघले ब्याजदरको भद्रसहमति ब्यूँताउन गरेको पहल र छलफलले समेत लगानीकर्तालाई उत्साही बनाएको देखिन्छ । 

केही प्राविधिक विश्लेषकहरुले बजारको बियरिस प्रवृति अन्त उन्मुख भएको भनी गरेको विश्लेषणले समेत यो बेला काम गरेको छ ।

तर, कतिपय स्रोतले भने अर्थमन्त्री डा. युवराज खतिवडा निकटका लगानीकर्ताको समूहले आन्दोलनलाई निस्तेज पार्न र आम लगानीकर्ताको आक्रोशलाई मत्थर पार्न सुनियोजित रुपमा बजारमा खरिदारी बढाएर लगातारजसो बढोत्तरी निम्त्याइरहेको दाबी समेत गरेको छ ।

यिनै कारणले आइतबारदेखि उकालो लागेको बजार सोमबार पनि दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १२.४९ अंकले बढेर ११४४.१९ को विन्दूमा फर्किएको छ । यो दिन राम्रा कम्पनीहरुको सेयरमा खरिदारी बढेका कारण सेन्सेटिभ इण्डेक्स २.८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९३ अंकको वृद्धि देखिएको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि निकै राम्रो बढोत्तरी भएको छ । बजारको भविष्यका लागि यो सुखद संकेत समेत हो । 

यो दिन उत्पादनमूलक समूह २.५१ अंकले घटेको छ भने अन्य समूहमा २.७९ अंकको गिरावट देखिएको छ । बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । 

बैंकिंग समूह १३.४३ अंकले बढेको यो दिन होटल समूह २३.८७ अंक, विकास बैंक समूह १४.८ जलविद्युत समूह ५.१, बित्त समूह ४.४, निर्जीवन बिमा समूह ७२.०५, जीवन बिमा समूह ९८.६९ र माइक्रोफाइनान्स समूह १८.०८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका १२ लाख ६४ हजार ३ सय ४० कित्ता सेयर ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भएको छ । 

आकर्षक लाभांश प्रस्ताव गरेका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर किन्न लगानीकर्ता ओइरिएका छन् । यहीकारण यो कम्पनीले सबैभन्दा बढी ५ करोड ४८ लाख बढीको कारोबार गरेको छ । 

ग्लोबल आइएमई बैंकले ३ करोड ५७ लाख, नेपाल बैंकले ३ करोड ३० लाख बढीको कारोबार गरेको यो दिन एशियन लाइफ इन्स्योरेन्सले १ करोड ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

यो दिन छिमेक लघुवित्तले १ करोेड ९४ लाख, एनएमबी बैंकले १ करोड ८९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, प्रभू बैंकले १ करोड २९ लाख बढीको कारोबार गरेका छन् । इन्भेष्टमेन्ट बैंकको १ करोड ९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनसीसी बैंकले १ करोड ७ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले यो दिन धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयर मूल्य ६.६१ प्रतिशतले घट्यो ।