काठमाण्डौ । पूँजी र मुद्रा बजारका समस्या पहिचान गर्न अर्थमन्त्रीबाट गठित कार्यदलका सदस्यले आफ्ना सुझाव अध्ययन समितिलाई बुझाएको र बजारमैत्री नीति तर्जुमा हुने खबरको प्रवाहले बजारमा सकारात्मक प्रभाव पारेको छ ।

मंसिरयता बैंकहरुको डिपोजिटमा देखिएको उच्च सुधार, ब्याजदरमा पुनः भद्र सहमति कायम हुने लगायतका बिषयले समेत बजारलाई सकारात्मक दिशा दिएको छ । 

बजारका लागि राम्रो अवस्था सिर्जना हुँदैछ भन्ने कुराले उत्साही बनेका लगानीकर्ताको सक्रियता बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा खरीद चाप देखियो । फलस्वरुप यो दिन नेप्से परिसूचक ७.६ अंकले बढी ११४८.७८ को विन्दूमा पुगेको छ । 

राम्रा कम्पनीमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६९ अंकको बढोत्तरी देखिएको छ । 

यो दिन तीनवटा समूहको परिसूचकमा गिरावट देखिए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । 

होटल समूह १.८५ अंकले घटेको यो दिन बित्त समूहमा ०.४४ र अन्य समूहमा २.५७ अंकको गिरावट देखिएको छ । 

बैंकिंग समूह ८.५५ अंकले बढेको छ भने विकास बैंक समूहमा ८.८७, जलविद्युत समूहमा ८.८, निर्जीवन बिमा समूहमा ६५.७८, जीवन बिमा समूहमा ३०.२७, माइक्रोफाइनान्स समूहमा ११.६१, उत्पादनमूलकमा ५.३८ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ९ लाख ९७ हजार ६ सय ७२ कित्ता सेयर ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल इन्स्योरेन्सले सबैभन्दा बढी ५ करोड २५ लाख बढको कारोबार गरेको छ । नेपाल बैंकले २ करोड २६ लाख बढीको कारोबार गरेको बजारमा माछापुच्छे बैंकको २ करोड ३ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

छिमेक लघुवित्त विकास बैंकले १ करोड ८५ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १ करोड ६५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ३१ लाख, एनआइसी एशियाले १ करोड १६ लाख, प्रभू बैंकले ९८ लाख, एनसीसी बैंकले ९४ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ९३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागबेली लघुवित्त विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ५.२५ र ५.१५ प्रतिशतले बढेको छ । 

यो दिन सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ३.५७ प्रतिशतले बढ्यो ।