काठमाण्डौ । बैंकहरुबीच ब्याजदर बढाबढको दौडको प्रभाव सेयर बजारमा थप बढेको छ । बुधबार पनि ब्याजदर प्रभावले नै नेप्से परिसूचक घटेको छ भने कारोबार रकमतर्फ पनि गिरावट आएको छ । 

एकातिर बैंकहरुको ब्याजदरको प्रभाव देखिएको छ भने अर्कोतर्फ अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनको अवस्थालाई धेरै लगानीकर्ताले पर्खिएका देखिएको छ । 

ब्याजदर नियन्त्रण र बजार सुधारका लागि कस्ता अजेण्डाहरु आउँछन् भन्ने बिषयमा कतिपय लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाएका छन् । यसले समेत बजारमा प्रभाव पारेको देखिन्छ । 

आजको बजार गिरावटमा सर्टटर्म कारोबारीको चाँडै प्रफिट बुक गर्ने प्रवृति समेत कारक देखिएको छ । 

यो दिन नेप्से परिसूचक ५.४६ अंकले घटेर ११६२.७० को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन विकास बैंक समूह १४.९७ अंकले बढेको छ भने निर्जीवन बिमा समूह १७.६९ अंक, उत्पादनमूलक २.३३ अंक र बित्त समूह १.०३ अंकले बढेका छन् । 

यो दिन बैंकिंग समूह ८.६५ अंकले घटेको छ भने होटल समूह ५.५४ अंक, जलविद्युत समूह २.१३ अंक, जीवन बिमा समूह ३६.५६, माइक्रोफाइनान्स ५.९३ अंक र अन्य समूह ०.२४ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ५८ कम्पनीका १३ लाख २ हजार ८ सय २२ कित्ता सेयर ३८ करोड ७२ लाख ९२ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३ करोड ५२ लाख बढीको कारोबार गरेको छ । एनएमबी बैंकले पनि ३ करोड ५२ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३५ लाख बढीको कारोबार गरेको छ । ग्लोबल आइएमई बैंकले २ करोड २८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले २ करोड ६ लाख, नेपाल बैंकले १ करोड ३० लाख, गण्डकी विकास बैंकले १ करोड १० लाख, एनआइसी एशिया बैंकले १ करोड ८ लाख, एनसीसी बैंकले १ करोड ७ लाख र नेको इन्स्योरेन्सले ९४ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन काबेली विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन ङादी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.३१ प्रतिशतको गिरावट आयो ।